• आज : Wednesday 17 January 2018
    3:05:36 NST

उत्तर कोरियासँग वार्ता गर्न ट्रम्प तयार ?

अमेरिका, २८ पुस ।  तीन महिना अघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राज्य सचिव रेक्स टिलरसनलाई उत्तर कोरियासँग कुरा गर्नुको कुनै अर्थ नभएकाले समय खेर नफाल्न आग्रह गरिरहेका थिए । त्यस समय टिलरसनले अमेरिका र उत्तर कोरियाबीच वार्ता गराउने कुरा गर्दा ट्रम्पले यसको खुब आलोचना गरेका थिए तर अहिले भने उनले उत्तर कोरियाप्रति नम्रता अपनाउन खोजिरहेको अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन् ।
 
लामो समयदेखि किम र ट्रम्पले एकअर्कालाई अपमानजनक शब्दमा गाली गर्दै आइरहेको भएपनि ट्रम्पले अहिले चाहिँ उत्तर कोरियालाई खुलस्त वार्ताका लागि प्रस्ताव गरेका छन् । सहि अवस्था हेरेर किमसँग वार्ता गर्न तयार रहेको उनले बताए । यसअघि पनि पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले किमसँग फोनमा प्रत्यक्ष कुरा गर्न चाहेको बताएका थिए । 
 
ट्रम्प र किमबीच धम्की दिने क्रम जारी रहेकै अवस्थामा दक्षिण कोरियासँगको छलफल सफल भइदिँदा ट्रम्प पनि यसबाट केही आशावादी भएकाले उनले उत्तर कोरियासँगको विवाद शान्तिपूर्ण ढङ्गले सुल्झाउन खोजिरहेको बताइएको छ । उत्तर कोरियाले आगामी महिनाको ओलम्पिक्समा सहभागी हुने भनेदेखि नै अमेरिकाले आफ्नो रणनीति परिवर्तन गरिरहेको विश्वविद्हरुको भनाइ छ ।  
 
तरपनि यता नेता किमको उद्देश्यबारे अमेरिका अझै शंकामा रहेको सिएनएनले बताएको छ । किनकी प्रतिबन्धपछि उत्तर कोरियाले धेरै कठिनाइको सामना गर्नुपरिरहेको छ र दक्षिण कोरियासँगको मिलापले उनीहरुलाई धेरै मद्दत पुर्याउन सक्छ । त्यस्तै अर्कोतर्फ विश्वको ध्यान दक्षिण कोरियातर्फ केन्द्रित गरेर किमले गोप्य रुपमा नयाँ मिसाइलको तयारी गरिरहेको पनि हुन सक्ने अनुमान गरिएको छ । 
 
उत्तर कोरियाले विश्वलाई आफूले लगातार मिसाइल परीक्षण गरिरहनु पछाडिको वास्तविक कारण बताउन तयार भएमा अमेरिका उनीहरुले भनेअनुसार वार्ता र छलफल गर्न तयार रहेको ट्रम्प प्रशासनले बताएको छ ।

Comment

Related News