• आज : Wednesday 17 January 2018
    3:04:24 NST

एमाले माओवादी एकता लम्बिने संकेत

ओली फर्किएपछि मात्र पार्टी एकता कार्यदल बनाइने 
काठमाडौं, २६ पुस । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताका लागि आन्तरिक गृहकार्य भइरहेको भए पनि लम्बिने संकेत देखा परेको छ । दुवै पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको वान टु वान वार्ताअनुसार मंगलबार पार्टी एकतापछि हुने पदको टुंगो लगाउन र नीति सिद्धान्त तय गर्न छुट्टाछुट्टै कार्यदल बनाउने सहमति भएको थियो । तर सहमतिअनुसार मंगलबारको बैठकले दुवै कार्यदल बनाउन नकसेपछि तत्काल पार्टी एकता सम्भव नदेखिएको चर्चा हुन थालेको छ । 
बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली उपचारका लागि साताब्यापी भ्रमणमा निस्कने भएपछि एकता प्रक्रिया झन पर धकेलिएको प्रष्ट भएको हो । एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा चारघण्टा बसेको बैठकले राष्ट्रियसभा र प्रदेशसभा गठन प्रक्रिया र भागबण्डा मिलाउनका लागि छुट्टै कार्यदल बनाएको छ । जसमा नेकपा एमालेका ३ र माओवादी केन्द्रका ३ नेता रहेका छन् । एमालेका सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे रहेका छन् भने माओवादी केन्द्रका रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेका छन् । उनीहरुले राष्ट्रियसभामा उमदेवारको भागबण्डा मिलाउने र प्रदेशसभामा बन्ने सरकारमा सहमति जुटाउने प्रयास गर्नेछन् ।
एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले पनि वैचारिक र सांगठनिक कार्यदल एमाले अध्यक्ष केपी शर्मा ओली विदेशबाट फर्किएपछि मात्रै बनाउने बताए ।  उनले समय अभाव र आन्तरिक छलफल बाँकी रहेकाले कार्यदल निर्माण गर्न नसकेको बताए । वैचारिक र सांगठनिक कार्यदल बन्न नसकेपछि पार्टीभित्रकै नेताहले आशंका व्यक्त गरेका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य मणी थापाले आफूहरुले सोचेको जस्तो निर्णय बैठकबाट नआएको बताए । 

Comment

Related News