• आज : Saturday 21 April 2018
    3:17:15 NST

घान्द्रुक–घोडेपानीमा ६३ हजार पर्यटक

म्याग्दी, २६ पुस । अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत् पर्ने म्याग्दीको घोडेपानी र कास्कीको घान्द्रुक क्षेत्रमा सन् २०१७ मा ६३ हजार भन्दा बढी बाह्य पर्यटक पुगेका छन् । 
अन्नपूर्ण संरक्षण क्षेत्र ईलाका कार्यालय घान्द्रुकका अनुसार सन २०१६ को तुलनामा सन २०१७ मा बिरेठांटी हुदै घोडेपानी र घान्द्रुकको भ्रमणमा आउने पर्यटकको संख्या ३४.४८ प्रतिशतले बढेको छ । सन २०१७ को जनवरीदेखि डिसेम्बरसम्म बिरेठाँटी हुदै घोडेपानी, घान्द्रुक, अन्नपूर्ण बेसक्याम्प क्षेत्रको भ्रमणका लागि ६३ हजार ५ सय ३७ जना बाह्य पर्यटक भित्रीएको कार्यालयका प्रमुख संरक्षण अधिकृत बिदुर बिक्रम कुईकेलले जानकारी दिनुभयो । बिरेठाँटी यो क्षेत्रमा पर्यटक भित्र्ने मुख्य नाका हो । 
कार्यालयका अनुसार बिरेठाँटी चेकपोष्टबाट सन २०१६ मा ४७ हजार २ सय ७४ बाह्य पर्यटक भित्रीएका थिए । सन २०१५ मा ३६ हजार र २०१४ मा ४२ हजार पर्यटक यो क्षेत्रको भ्रमणमा आएका थिए । बिरेठाँटी, शिख र छोमरोङ चेकपोष्ट मार्फत घोडेपानी, घान्द्रुक क्षेत्रको पदयात्रामा आउने र फर्कने पर्यटकको विवरण राख्ने गरिन्छ । गत अक्टोबरमा सबैभन्दा धेरै १० हजार ९ सय ९८ र जुनमा सबैभन्दा कम एक हजार ६ सय २२ जना पर्यटक भित्रीएका छन् । 
मगर, गुरुङ बस्ती, उनिहरुको कला, संस्कृती जिवन शैली, हिमशृङखला, सुर्योदय, लाली गुराँसको जंगल, एकान्त वातावरण यस पदमार्गको मुख्य बिशेषता हो । म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङ जिल्लालाई समेटीएको अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न सार्क राष्ट्रका नागरीकले प्रतिव्यक्ति दुई सय र अन्य मुलुकका पर्यटकले प्रतिव्यक्ति दुई हजार रुपैया शूल्क तिर्नुपर्छ ।
 

Comment

Related News