• आज : Wednesday 17 January 2018
    10:47:02 NST

तराइमा अझै केही दिन हुस्सु र शीतलहर

सप्तरी, २४ पुस । तराईमा केही दिन यता लागेको हुस्सु र शितलहर अझै केहीदिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनअघिको तुलनामा बाक्लो हुस्सु लाग्ने क्रम कम हुँदै गए पनि पूर्ण रुपमा हट्न समय लाग्ने भएको हो । डिसेम्बरको अन्तिमलेखि जनवरीको अन्तिम हप्तासम्म शीतलहर हुने समय भएकाले अझै केही दिन बाक्लो हुस्सु लाग्ने मौसमविद वरुण पौडेलले बताउनुभयो ।
अहिलेको हुस्सु हट्न कि पानी पर्नुपर्ने कि बेगले हावा चल्नुपर्ने भए पनि हप्तादिनको बिचमा हावा चल्ने वा पानी पर्ने कुनै सम्भावना नरहेको उहाँले बताउनुभयो । बिहानको समयमा बाक्लो हुस्सु लागेपनि दिउँसो पख खुल्ने जाने तर चिसो भने नहट्ने मौसमविदले अनुमान गरेका छन् ।
यसैबीच, शीतलहरले अहिलेसम्म सप्तरीमा मात्रै १४ जनाको ज्यान गइसकेको छ भने सिरहामा चिसोका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । 
आइतबार मात्रै कञ्चनरूप नगरपालिका–७ का ६१ वर्षीय उत्तम मरिक डोम र बरमझियाका ५५ वर्षीय बेचन शेखको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार कञ्चनरूप नगरपालिका–४ का ललित चौधरीका सातमहिने छोरा गणेश, खड्ग नगरपालिका–८ का ६० वर्षीय मुसहरू चौधरी, डाँकनेश्वरी नगरपालिका–८ का ५५ वर्षीया झौली यादव, अग्निसाइर कृष्णासवरन गाउ“पालिका–४ का ६० वर्षीय लखन ठाकुर र तिलाठी–कोइलाडी गाउँपालिका–७ का ३५ वर्षीय शिवु मण्डलको जाडोले कारण मृत्यु भएको थियो ।
प्रहरीका अनुसार महदेवा गाउँपालिका–२ का ५८ वर्षीय सुकदेव यादवको गत शुक्रबार बिहान घरनजिकैको नहर किनारमा शौच गर्ने क्रममा कठ्यांग्रिएर मृत्यु भएको थियो । शुक्रबारै तिलाठी–कोइलाडी गाउँपालिका–२ का ५५ वर्षीय सुजन ठाकुरको कठ्यांग्रिएर घरमै मृत्यु भयो । त्यसअघि बिहीबार राजविराज नगरपालिका–१० की ६५ वर्षीया कैलीदेवी खंग र राजविराज नगरपालिका–२ की ६० वर्षीया नाजो वेगमको जाडोबाटै मृत्यु भएको वडाध्यक्ष अरुण यादवले बताए ।
 

Comment

Related News