• आज : Wednesday 17 January 2018
    10:50:42 NST

‘चङ्गाचेट’का लागि २५ लाखमा दीपेन्द्र अनुबन्धित

काठमाडौं, २४ पुस । पछिल्लो समय चलचित्रका नायक नायिकाले मात्र नभएर चलचित्र निर्देशकले पनि राम्रै पारिश्रमिक पाउने गरेका छन् । चलचित्रमा स्थापित भएपछि उनीहरुले डिमाण्ड गरेकोअनुरुपको रकम पाउने गरेका हुन् । अनमोल केसीलाई ५० लाखको अफर, प्रदिप खड्काले ‘लिलिबिली’बाट लिएको २२ लाख, विपिन कार्कीले ‘फनफनी’मा लिएको १७ लाख बढीको पारिश्रमिकले सिनेवृत्तमा चर्चा चलिरहेका बेला अहिलेका चर्चित निर्देशक दीपेन्द्र के खनालले पनि राम्रै पारिश्रमिकमा एउटा चलचित्रमा साइन गरेका छन् । 
निश्चिल बस्नेत, रामबाबु गुरुङ जस्ता केही निर्देशकले एक फिल्म निर्देशन गरेबापत २५ लाख बढी पारिश्रमिक लिने गरेको खबर बाहिर आइरहेको बेला ‘पशुपतिप्रसाद’ निर्माण गरेर उत्कृष्ट निर्देशकको सूचीमा नाम लेखाउन सफल भएका निर्देशक खनालले पनि आफ्नो डिमाण्ड अनुसारको पारिश्रमिक पाउने भएका छन् । दीपेन्द्रले ‘चङ्गाचेट’ नामक फिल्म निर्देशनका लागि २५ लाखमा साइन गरेको बुझिएको छ । चलचित्र ‘चङ्गाचेट’को छायांकन चैत १ गतेबाट सुरु हुनेछ । 
फिल्ममा आयुष्मान देशराज जोशी, रविन्द्र झा, ऋचा शर्मा र सन्ध्या केसी लिड रोलमा अनुवन्धित भइसकेका छन् । अझै केही कलाकारको छनौट कार्य भइरहेको छ । कमेडी जनरामा निर्माण हुन लागेको यो फिल्मका निर्माता माधव वाग्ले हुन् । जनकपुर, काठमाडौं र पोखरामा खिचिने फिल्ममा निरज कँडेलको छायांकन, प्रदिप भारद्धाजको कथा, अर्जुन पोखरेल र राजनराज सिवाकोटी संगीत रहनेछ । नायक आयुष्मान, दीपेन्द्रको निर्देशनमा बन्न लागेको दोस्रो फिल्ममा काम गर्दैछन् । यसअघि ‘चपली हाईट २’ मा आयुष्मान र दीपेन्द्रले सँगै काम गरेका थिए ।
निर्देशक खनालले चलचित्र निर्देशनका लागि आफूले सम्झौता अनुरुपको रकम खासै ठूलो रकम नभएको पनि बताएका छन् । उनले भने– ‘चलचित्र भनेको विजनेस भएको भन्दै व्यापारमा नाफा घाटा हुन्छ नै । यदी चलचित्र सफल भएर धेरै कमाए पनि निर्देशकले पाउने त्यही सम्झौता अनुरुपको रकम मात्रै हो ।’ एक वर्षसम्म न्यायपूर्वक काम गरेरको रकम २५ लाख हुनु ठूलो नभएको र त्यसका पछाडि काम र जिम्मेवारी महत्वपूर्ण रहने उनले बताए । 
 

Comment

Related News