• आज : Wednesday 17 January 2018
    10:48:54 NST

राजधानी तोक्ने विषयमा सरकार यसकारण पछि हट्यो

काठमाडौं, २३ पुस । प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी भइरहेका बेला देशका विभिन्न स्थानमा आन्दोलन चर्कन लागेपछि सरकार आफै पछि हटेको छ । राजनीतिक सहमतिका आधारमा प्रदेशको राजधानी तोक्ने तयारी थालेपनि एमालेको असहमति र आन्दोलनपछिको जिम्मा अहिलेकै सरकारको जिम्मामा आउने भएपछि सरकार पछि हटेको हो । प्रादेशिक राजधानीको लागि सरकारले प्रारम्भिक खाका तयार गरेको भन्ने भन्ने समाचार बाहिरिएपछि स्थानीय आन्दोलनलाई थप सशक्त बनाएका हुन् । 
राजधानीको माग राख्दै २४ दिनदेखि धनकुटामा आन्दोलन जारी छ । त्यस्तै प्रदेश नम्बर ३ को राजधानी माग राख्दै काभ्रेमा आन्दोलन जारी छ । प्रदेश नम्बर ५ को राजधानी माग राख्दै रुपन्देहीमा आन्दोलन जारी छ । त्यसैगरी प्रदेश नम्बर ७ को राजधानी दिपालय माग राख्दै कैलाली र कञ्चनपुर बाहेकका अन्य जिल्लामा आन्दोलन जारी छ । 
संविधानमा प्रदेशसभाको पहिलो बैठकले प्रदेशको स्थायी राजधानी  तोक्नसक्ने भएपनि अस्थायी राजधानी भने सरकारले नै तोक्न सक्ने व्यवस्था छ । वर्तमान सरकारले राजनीतिक सहमतिमा अस्थायी राजधानी तोक्न पहल गरेपनि एमाले लगाएतका केही दलले सरकारले तोकेको राजधानीका विषयमा सहमति नजनाउने बताएपछि सरकार पछि हटेको हो । 
प्रदेशको राजधानी तोक्ने तयारी भइरहेको बेला देशका विभिन्न स्थानमा आन्दोलन भईरहेको र संविधानले नै प्रदेशसभाको बैठकले प्रदेशको राजधानी तोक्ने अधिकार दिएको भन्दै तत्कालका लागि प्रदेशको राजधानी नतोक्ने सरकारको तयारी छ । सरकारले तत्कालका लागि प्रदेशसभाको पहिलो बैठक काठमाडौमा बोलाउने र त्यही प्रदेशसभाले राजधानी तोक्ने सरकारको भनाइ छ । 
प्रदेशको राजधानी तत्काल नतोकेपनि आगामी सोमबार बस्ने मन्त्री परिषद् बैठकले प्रदेश प्रमुखको नियुक्त गर्ने तयारी थालेको छ । प्रदेश प्रमुख नतोकिदा प्रदेश सांसदले सपथ खान नपाउने र राष्ट्रियसभा सदस्यका लागि मतदान गर्न नपाउने व्यवस्थाका कारण प्रदेश प्रमुख भने तत्काल तोक्ने सरकारको तयारी छ । प्रदेशको अस्थायी राजधानी तोक्ने विषयलाई अन्तिम टुंगो लगाउन सहसचिवको नेतृत्वमा गठन गरेको अध्ययन समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले अस्थायी राजधानी तोक्न लागेको भन्ने समाचार बाहिर आएपछि सोही विषयलाई लिएर मुलुकका विभिन्न स्थानमा आन्दोलन सुरु भएको छ ।
 

Comment

Related News