• आज : Tuesday 12 December 2017
    9:52:09 NST

पराजित पिएसजी समूह विजेता

काठमाडौं, २० मंसिर ।  यूएफा च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलमा जर्मन क्लब वायर्न म्युनिखले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गरेको छ । मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा वायर्नले पिएसजीलाई ३–१ ले पराजित गरेको हो ।
च्याम्पियन्स लिगको अन्तिम १६ मा यसअघि नै स्थान पक्का बनाईसकेको घरेलु टोलि वायर्नलाई जित दिलाउन कोरेन्टिन टुलिसोले दुई गोल गर्दा रोबर्टो लेवान्डोस्कीले एक गोल गरे । यस्तै अन्तिम १६ मै स्थान पक्का गरिसकेको पिएसजीका केलियन एमबाप्पेले एक गोल फर्काए ।
घरेलु मैदानमा खेलको आठौं मिनेटमा नै लेवान्डोस्कीको गोलबाट वायर्नले सुरुवाती अग्रता बनाएको थियो । खेलको ३७ औं मिनेटमा टुलिसोले गोल गरेपछि पहिलो हाफमा घरेलु टोलि २ – ० ले अघि रह्यो । दोस्रो हाफको ५० औं मिनेटमा पिएसजीका एमबाप्पेले गोल गर्दै खेल २ – १ मा ल्याए । त्यसपछि  खेलको ६९ औं मिनेटमा टुलिसोले व्यक्तिगत दोस्रो गोल गरेपछि वायर्नले ३ – १ को सहज जित निकाल्यो ।
यो जितपछि समूह बि बाट वायर्नले समूह उपविजेता बन्दै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनायो । हारको बाबजुत पिएसजी समूह बिजेता बन्यो । दुवैले समान १५ – १५ अंक जोडेपनि गोल अन्तरमा पिएसजी अघि रह्यो । यो समूहबाट समान ३ – ३ अंक जोडेको सेल्टिक र एन्डरलेक्ट समूह चरणबाट बाहिरियो ।  मंगलबार राति नै भएको खेलमा एन्डरलेक्टले सेल्टिकलाई १–० ले हराएको थियो  ।

Comment

Related News