• आज : Wednesday 17 January 2018
    10:40:31 NST

मधु आचार्य भन्छन : समृद्ध काभ्रे निर्माणका लागि मलाई भोट

 
तात्कालीन राजाले राजनीतिको बागडोर सम्हालेर शासन सत्ता सञ्चालन गरिरहेका बेला नेपाली कांग्रेसको विधानमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र भन्ने व्यवस्था थियो । त्यस समयमा देशभरका परिवर्तनकारीलाई समेटेर गणतन्त्रको पक्षमा वकालत गर्ने मध्यका शीर्षस्थ मानिन्छन् । काभ्रे कांग्रेसका सभापती मधु आचार्य । 
२०५७ सालमा जिल्ला सभापति भएका आचार्य २०७२ सालदेखी पुनः जिल्ला सभापति भई काभ्रे कांग्रेसको नेतृत्व सम्हालीरहेका छन् ।  पहिलोपटक जिल्ला सभापति रहेका बेला २०६० सालमा देशभरका जिल्ला सभापतिहरुको भेला गराई लोकतान्त्रिक गणतन्त्र, संविधानसभा र माओवादीसंग वार्तागरी शान्ति स्थापनाको पहलकदमी जस्ता निर्णय गराउन सफल भएका थिए । 
यसरी सफलता हासिल गरी पार्टीभित्र लोकतान्त्रिक गणराज्यका लागि काँग्रेस अभियान नै चलाएका आचार्य काँगे्रसी राजनीतिमा बौद्धिक नेताका रुपमा परिचित छन् । पिता ध्रुवप्रसाद र माता मिठुकुमारीको कोखवाट २०२१ साल बैशाख २९ गते काभ्रेको बल्थलीमा जन्मिएका आचार्यले २०३३ सालदेखी राजनीति वारे चासो राखेका हुन भने ३६ सालको विद्यार्थी आन्दोलनवाट पूर्णरुपमा राजनीतिमा लागेका हुन । 
 
प्रथम श्रेणीमा एसएलसी र प्रथम श्रेणी पास गरेर इन्जिनियर बनेका उनी उच्च श्रेणीको जागिर नखाई राजनीतिक यात्रा तय गरी गाउँ फर्केका थिए । जननेता विश्वेश्वर कोइराला र गणेशमान सिंहको अशल अनुयायी उनले नेपाली काँग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक भई देशैभरी वीपी र गणेशमानका विचार र काँग्रेसको मूल एजेण्डा लिएर जनता सामु गए । 
वीपिले राजनीतिक जिवनमा हिँडेका देशका सबै ग्रामीण तथा पहाडी बाटोमा वीपी विचारधाराको मूल नारा सहित पैदल यात्रा गरेपछि आचार्य राजनीतिक वृतमा एकाएक चर्चामा आएका बौद्धिक नेताका रुपमा मानिन्छन् । 
आसन्न निर्वाचनमा प्रतिनिधि सभा क्षेत्र नं। २ का लागी प्रत्यक्ष तर्फका उमेद्वार समेत रहेका नेपाली काँग्रेस काभ्रेका सभापती मधुप्रसाद आचार्यले सञ्चारकर्मीसँग गरिएको कुराकानीका केही अंशः  
 

तपाईको चुनावी गतिविधि कस्तो चलिरहेको छ ?

म जनताको घरदैलोमा गइरहेको छु । नेपाली कांग्रेसको गौरवशाली इतिहासको थोरै चर्चा र वैभवशाली भविष्य निर्माणका धेरै योजनाहरु प्रस्तुत गरेको छु । जनताका कुरा सुनेको छु । आफ्ना कुरा राखेको छु ।
 सन्तोषको कुरा के भने जनताको मुड र प्रतिक्रिया असाध्यै सकारात्मक पाएको छु र म उत्साहित छु । सबैले फोश्रो आश्वासन मात्र दिएर गए आज सम्म । अब तपाई आउनुभएको छ, हामीले विश्वासका साथ मत दिन्छौं तपाईवाट विकास र समृद्धि चाहेका छौं भनेर हौसला दिइरहेका छन् । विगतदेखि नै राज्यका ऐतिहासिक एवं महत्वपूर्ण आन्दोलन र निर्णयमा नेपाली कांग्रेसले अगुवाई गरेको छ र जिल्लाको विकासमा पनि तपार्इंले नेतृत्व गर्नुहोस भन्ने अपेक्षा रहेको पाएको छु । 
 

काँग्रेसले खाली इतिहास मात्र भजाउन खोज्छ भनिन्छ नि ?

नेपाली राजनीतिमा कालजयी इतिहास हुनेले विगतको कुरा नगरेर के गर्ने त ? नहुनेले पीडावश भन्ने कुरा मात्र हो । यो फगत आरोपका लागी आरोप मात्र हो ।  विगतको राजनीतिक व्यवस्थापन कांग्रेसले नै गरेको हो र आगामी दिनमा पनि नेपाली कांग्रेसकै नेतृत्वमा नवीन नेपाल बन्नेमा शंका नगर्न अपिल गर्दछु । 
 
सधैं राणा शासन र राजा फाल्यौं, पञ्चायत फाल्यौं मात्र भनेर त नहोला नि त ? 
 
कहाँ हामीले यती मात्र भन्या छौं र ? हामीले माओवादीसँग संवाद र सहमती गरेर देशमा शान्ति फर्कायौं भनेका छौं । राजा ज्ञानेन्द्रका लोकतन्त्र विरोधी गतिविधिवाट आजित भएपछि गणतन्त्रमा जाने संस्थागत निर्णय गर्यौ र लोकतान्त्रिक गणतन्त्रलाई सुनिश्चित गर्यौ पनि भनेका छौं । अधिकांश दलको सहमति जुटाएर संविधान जारी गर्यौ भनेका छौं । गरेका कुरा भन्न पाइन्न र ? 
अब काँग्रेसले गर्ने के हो भनेर त्यो पनि भनेका छौं । पढनुस् न हाम्रो घोषणा पत्र र पार्टी समग्र नीति तथा कार्यक्रमहरु । आर्थिक समृद्धि सहित भौतिक विकास र मुलुलको आधुनिकीकरण पनि हामीले नै गर्ने हो भनिरहेका छौं । 
 

खासमा कांग्रेसले जितेमा गर्ने चाहिँ के हो ? 

इतिहासमा हामीले एउटा गम्भिर गल्ति पनि गरेका छौं । संसदमा आफ्नो वहुमत हुँदाहुँदै आफ्नै आन्तरिक कारणले संसद विघटन गरेर मध्यावधी  निर्वाचन गराएका छौं । अब यो गल्ति दोहोर्याउने छैनौ । 
जनतालाई स्थीर सरकार दिनेछौं र लोकतान्त्रिक विधिवाट आर्थिक क्रान्तिको युगमा देशलाई प्रवेश गराउने छौं । शान्ति, सहभागिता मूलक लोकतन्त्र र संविधान पछिको हाम्रो लक्ष्य समृद्धि हो । हामी समतामूलक समाजको निर्माणमा अब सकृय हुनेछौं ।
लैगिंक विभेद नहुने र युवालाई स्वदेशमा रोजगारीको श्रृजना गरी विदेश पलायनलाई रोक्ने । विशेषगरी औद्योगिक क्रान्ति मार्फत व्यापक आर्थिक वृद्धि नै हाम्रो खास योजना रहने छ। 
 
काँग्रेसले जित्ने आधार चाहीं के छ त ? 
 
जनताको विश्वास । जसले हिजो जनताका लागी क्रान्ति गरेको थियो , भोली अवसर पायो भने त्यसैले गर्छ भन्ने दरो मनोविज्ञान एउटा आधार हो । जुन काँग्रेसले गरिरहेको छ । फगत गफले देश बन्ने होइन । 
जनता अहिले बोली चालाउने ओठ भन्दा काम गरेर देखाउने हात, खुट्टा र दिमाग खोजिरहेका छन् । त्यो नेपाली कांग्रेससंग छ । अनी अहिलेको वाम गठबन्धन भनिएको कम्यूनिष्टहरुसंग तल्लो तहका कार्यकर्ताहरु पनि चित्त दुखाएर बसेका छन् । उनीहरुको साथ सहयोगपनि हामीलाई नै छ भने आम लोकतन्त्रवादीहरु रुख चिन्हमा छाप लगाउन आतुर भएका छन् । 
तानाशाह र अधिनायकवादलाई जनताले एक रत्ति पनि रुचाउने अवस्था नरहेको स्पष्ट छ । फलस्वरुप वाम एकतालाई नरुचाएर खुलेआम र भित्रिरुपमा काँग्रस पार्टीमा प्रवेशको लर्कोले प्रमाणित गरिरहेको छ । भर्खर सम्पन्न स्थानीय तहको चुनाव र २०७० को संविधानसभाको निर्वाचनको मत परिणामलाई आधार मानेर वाम गठबन्धनले जित्ने भए यो चुनाव जरुरी नै थिएन । प्रजातन्त्रवादी जनता प्रचारवाजी भन्दा व्यवहारमूखी परिणाममा विश्वास गर्छन । यही नै हो हाम्रो जित्ने आधार। 
 

एमाले र माओवादीको गठबन्धनमा कांग्रेससंग भन्दा धेरै मत भएको तथ्य विर्सेको हो र ?

मत त काँग्रेससंग पनि छैन, एमाले र माओवादीसंग पनि छैन । मत त केवल जनतासंग छ । जनता स्वतन्त्र नागरिक हुन् । जुन सुकै संगठनमा काम गरेको कार्याकर्ता किन नहोस सबै भन्दा पहिला उ देशको नागरिक हो । उ कुनै पार्टीको सदस्य होला तर दास चाहीं होइन । 
गठबन्धनको जुन निर्णयमा उनीहरुको स्वामित्व खोजिएका छैन, त्यसका प्रति उसले ल्याप्चे लगाउनै पर्छ भन्ने वाध्यता हुदैन । अँध्यारो कोठमा केही मान्छे बसेर गरिने हठात् निर्णयले कार्यकर्ता र मुलुककै वर्वादी गर्छ । यसर्थ त्यो बर्बादीको साक्षी बस्न कोही तयार छैनन् । यस अघिका निर्वाचनमा पाएको मत र नेपाली जनता एमाले र माओवादीको पेवा हैनन् ।
त्यसैले ति भोटको जोडघटाउ गरेर जित्ने अंकडा निकाल्नु भनेको नेपाली राजनीति नबुझ्नु नै हो । कम से कम पहिलो र दोश्रो संविधान सभाको निर्वाचनलाई मूल्यांकन गरे जाति हुने थियो यत्तीसम्म पनि नगरी ओठे बोली र कोठे अंक गणितमा लागेर मतदातालाई प्रभावित गर्न खोजिएको मात्र हो । 
 

त्यसो भए विश्वास छ, जनताले तपाईलाई नै जिताउछन त ? 

मलाई पनि जिताउने होइन । पार्टी जिताउने हो । म त्यसको प्रतिनीधीमात्र हुँ । गणतन्त्र र संविधान मेरो पनि मूल नारा थियो । जुन सार्थक भइसकेको छ ।  अवको समय समग्र काभे्रवासीको हितमा जिल्लाको उन्नती र भौतिक विकासका लागी मेरो परिकल्पनाको परिक्षा लिने बैधानिक क्रियाकलाप पनि हो यो चुनाव । मौका नै नदिइकन कसैलाई पनि ठीक र वेठीक कसरी भन्ने ? मलाई यसपटक मतदाताले काम गर्ने मौका दिनेछन् र मेरो परिक्षा लिनेछन भन्ने कुरामा म ढुक्क छु ।
 जेल नेल र नेपाली राजनीतिमा आन्दोलित जिवन विताएकाले पनि काँग्रेसका अवका एजेण्डा स्थापित गर्नका लागी मधु आचार्यको अपरिहार्यता भएकाले मलाई जनताले उच्च मतका साथ जिताउने छन् भन्नेमा म विश्वस्त छु । 
निष्ठाको राजनीतिमा अडिग छु र जनमतको सम्मान गर्दै अहोरात्र काभ्रेको विकासमा समर्पित रहनेछु । आफ्नो जिल्लालाई प्रदेशकै नमुना बनाई देशमा उदाहरणीय बन्ने प्रयत्न गर्नेछु । 
 

अन्त्यमा केही ? 

लोकतन्त्रप्रेमी आम मतदातामा फेरी पनि जय नेपाल । हामी काभ्रेका दुवै प्रतिनिधी सभा र चारै प्रदेशसभामा उच्च मनोवलका साथ निर्वाचनमा भाग लिइरहेका छौं । लोकतन्त्रको जगमा टेकेर बनेको नेपालको संविधानलाई पूर्णत कार्यान्वयनका लागी प्रतिनिधी सभा १ र २ मा क्रमश तिर्थ लामा र मलाई अत्याधिक मत दिनुहुन हार्दिक अपिल गर्दछु । साथै १ को प्रदेश क र ख मा क्रमश सिबी लामा र गणेश लामा तथा प्रतिनीधि सभा २ मा मलाई र प्रदेशसभा क र ख मा क्रमश सुन्दरमणी आचार्य र कन्चनचन्द्र बादेलाई अत्याधिक मत दिई विजयी गराउनुहुन र समग्र काभ्रको विकासमा अहोरात्र खटिन मार्गनिर्देश गर्नुहुन विनम्र अनुरोध गर्न चाहन्छु ।

हामी कसैलाई गाली गलौज र अभद्र व्यवहार गर्न रुचाउन्नौ । सभ्य र सरल अनी मर्यादित राजनीतिक संस्कारको विकास गर्न चाहन्छौं । यसर्थ लोकतान्त्रिक गणतन्त्रलाई संस्थागतरुपमा स्थापित गरी काँग्रेसको नेतृत्वमा बनेको संविधानको पूर्ण कार्यान्वयवनको महान अभियानमा सहभागी हुन नचुकौं भन्न चाहन्छु । 
 

Comment

Related News