• आज : Monday 20 November 2017
    1:12:43 NST

२ रुपैयाँ तिरेर ‘दुई रुपैयाँ’ हेर्ने मौका

काठमाडौं, भदौ । गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘दुई रुपैयाँ’ लाई दर्शकले विहीबार २ रुपैयाँ तिरे हेर्न पाउने भएका छन् । चलचित्र हेर्न पुगेका सबै दर्शकले भने २ रुपैया तिरेर हेर्न पाउने भने होइनन् । सिनेमाको सफल कारोबारकै कारण दर्शकलाई अझै सिने प्रेमी बनाउन र सिनेमा प्रति आकर्षित गर्न यस सिनेमाका निर्माताहरुले एउटा स्किम लिएर आएका छन् ।  
क्युएफएक्स कुमारी हल कमलपोखरीमा भाग्यशाली १ सय दर्शकले दुई रुपैयाँमा सिनेमा ‘दुई रुपैयाँ’ हेर्न पाउने छन् । २९ गते बिहीबार बिहान ११ बजेको शोमा भाग्यशाली १ सय दर्शकले यस्तो मौका पाउनेछन् । चलचित्रले दर्शकको मन जित्न सफल भएको छ । चलचित्र प्रदर्शनको दुई दिनमा आक्रामक व्यापार गरेको चलचित्र हेर्ने दर्शक अझै पनि घटेका छैनन् । चलचित्र रिलिज हुनुअघि नै सिनेमामा भएको गीत ‘कुटुमा कुटु’ले सिनेमाको चर्चा बढाएको थियो । ‘कुटुमा कुटु’ गीतले युट्युबमा सबैभन्दा धेरै हेरिने नेपाली सिनेमाको गीतको रेकर्ड पनि राखेको छ । 
गीतजस्तै सिनेमालाई पनि दर्शकको माया मिलेको छ । असिम शाहको निर्देशनमा बनेको सिनेमा ‘दुई रुपैयाँ’ले शुरुवाती चार दिनमा राम्रो कारोबार गरेको छ । शुरुवाती दुईदिनमै दुई करोड रुपैयाँभन्दा माथिको कारोबार गरेको यस सिनेमाले त्यस पछिका दुई दिनमा पनि राम्रो व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।  चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनका प्रधान, बुद्धि तामाङ उर्फ हैट, रबिन्द्र झा लगायतका कलाकारहरुको मुख्य भूमिका छ । अभिनेत्री स्वस्तीमा खड्का यस सिनेमामा विशेष भूमिकामा छिन् ।
 

Comment

Related News