• आज : Tuesday 26 September 2017
    11:48:26 NST

नेपाललाई जितका लागि जम्मा ५१ रनको लक्ष्य

काठमाडौं, २८ भदौ । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोटको दोस्रो खेलमा नेपाललाई भुटानले जितको लागि ५१ रनको लक्ष्य दिएको छ । भुटानले दिएको ५१ लक्ष्यसहित नेपालले केहि बेरमा जवाफी ब्याटिङ गर्नेछ  ।
मलेसियास्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको भुटानले २८ ओभरमा अलआउट हुँदै ५० रन मात्र बनाउन सक्यो । नेपाली बलर हावी भएपछि भुटानका ब्याट्सम्यानहरु सस्तैमा पेभेलियन फर्किएका थिए । भुटानका टासी फुन्टोशोले १६ तथा उगेन दोर्जीले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्   ।
नेपालका कप्तान दीपेन्द्र सिंह एरीले ८ ओभरमा २३ रन खर्चिएर ५  विकेट लिए । यस्तै सन्दिप लामिछानेले ७ ओभरमा ७ रन खर्चिएर ४ विकेट लिए भने नन्दन यादवले एक विकेट लिएका छन् । 
पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको नेपाली टोली आज भुटानलाई पराजित गर्दै दोस्रो चरणमा पुग्ने योजनामा रहेको छ  । सोमबार भएको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २५५ रनले पराजित गरेको थियो । यता, भुटान भने पहिलो खेलमा सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो । 
छनोटको समूह ए मा रहेको नेपालले २ अंक जोडेको छ र नेपाल समूहको दोस्रो स्थानमा छ । नेपालले आज भुटानलाई पराजित गरेको खण्डमा नेपाल सेमिफाइनलमा पुग्ने छ ।  नेपालले समूह चरणको अन्तिम खेलमा सेप्टेम्बर १४ तारिखमा सिंगापुरविरुद्ध खेल्नेछ । दुइ खेलमा जित निकालेको सिंगापुर समूहको शिर्ष स्थानमा छ । छनोटको समूह बी मा भारत, मलेसिया, हङकङ र म्यानमार छन् । फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछन् ।

Comment

Related News