• आज : Friday 17 November 2017
    11:13:35 NST

दुई नम्बरमा एक नम्बर बन्न दलहरुको दौडधूप

काठमाडौं, २५ भदौ । प्रदेश नम्वर २ को चुनाव नजिकिँदै गएसँगै दलहरु स्थानीय मतदातालाई आ–आफ्नो पक्षमा पार्न दौडधूपमा छन् । उनीहरु विहानैबाट बेलुकीसम्म घरदैलोमा पुगेर मत बटुल्न सक्रिय भएर लागेका छन् । चुनवामा पार्टीको स्थिति मजबुत बनाउन मुख्य दलका शीर्ष नेता मधेस केन्दित बनेका हुन् । चुनावी परिणाममा एक नम्बर हुने दाबी गर्दै सबै दलले आ–आफ्ना चुनावी एजेण्डा सहित स्थानीयको घरदैलोमा पुगेका हुन् । 
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र मधेस केन्द्रित दल राजपा नेपाल तथा संघीय समाजवादी फोरम नेपालका नेताहरू विजय लक्ष्य लिएर चुनाव हुने प्रदेशमै पुगी रणनीतिसहित अभियान सञ्चालन गरिरहेका छन् । 
विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कम्तीमा तेस्रो नम्बरमा आउने सोचाइले चुनावी अभियानलाई तीव्रता दिएको छ । पार्टी उपाध्यक्ष गीता रानाले दुई नम्बर प्रदेशमा फोरम लोकतान्त्रिक दोस्रो पार्टी हुने र त्यो नभए तेस्रो भएरै छाड्ने दाबी गरिन् । 
दुई नम्बर प्रदेशका १ सय ३६ स्थानीय तहमध्ये कम्तीमा सय तहमा विजयी हुने पार्टीको रणनीति रहेको कांग्रेसका नेताहरूले बताए । पहिलो र दोस्रो चरणका चुनावमा पराजय भएको क्षतिपूर्ति दुई नम्बर प्रदेशबाटै गर्ने कांग्रेस नेताको भनाइ छ । कांग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले दुई नम्बर प्रदेशमा कम्तीमा सय सिट ल्याउने रणनीतिका साथ चुनावी प्रचार तीव्र बनाएको बताए । 
काग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहित पार्टीका सबै शीर्ष नेता दुई नम्बर प्रदेशका आठवटै जिल्लामा पुग्ने उनले बताए । उनका अनुसार केही शीर्ष नेता मधेसमै रहेका छन् । कांग्रेस नेता विमलेन्द्र निधि शनिबार जनकपुर गएका छन् । उनी चुनावभर जनकपुरमै रहनेछन् । 
पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा पहिलो पार्टी भएपछि हौसिएको एमाले तेस्रो चरणको चुनावमा पनि अघिल्लो परिणामलाई निरन्तरता दिने ध्याउन्नमा छ । एमाले नेता माधव नेपाल केही दिनअघि मधेसबाट काठमाडौं आएका छन् । उनी फेरि मधेस जाने तयारी गरेका छन् । एमाले अध्यक्ष केपी ओलीलगायत शीर्ष नेताहरू दुई नम्बर प्रदेशका सबै जिल्लामा पुग्ने तयारी भएको एमाले नेताहरूले जनाए । केही दिनअघि नै महासचिव ईश्वर पोखरेलको नेतृत्वमा मधेसमा सचिवालय गठन गरिएको छ । पोखरेल दुई नम्बर प्रदेशमै व्यस्त छन् । एमाले नेता शत्रुघन महतोले दुई नम्बर प्रदेशमा एमाले पहिलो पार्टी हुने दाबी गरे । ‘चुनावी लहर हाम्रो पक्षमा छ । हामी पहिलो पार्टी हुन्छौं,’ उनले भने । महतोले भदौको अन्तिम साता पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल मधेसका विभिन्न ठाउँमा पुग्ने कार्यक्रम तय भएको बताए ।
माओवादी केन्द्रका नेता मातृका यादव, रामचन्द्र झा, रामेश्वर यादव, रामकुमार शर्मालगायत अहिले मधेसमा माओवादीलाई पहिलो पार्टी बनाउने रणनीति बनाउँदै चुनावमा होमिएका छन् । माओवादीका सबै शीर्ष नेता दुई नम्बर प्रदेशका सबै तहमा पुग्ने नीति पार्टीले बनाएको छ । पार्टीका शीर्ष नेताको सहभागितामा माओवादीले दुई नम्बर प्रदेशका आठवटै जिल्लामा कोणसभा गर्ने तयारी गरेको माओवादी केन्द्रका नेताहरूले जनाएका छन् ।
मधेस केन्द्रित दल राजपा, फोरम नेपाल र फोरम लोकतान्त्रिका प्रायः सबै शीर्ष नेता मधेसमा पुग्ने भएका छन् । राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरबाहेक सबै पाँचजना सदस्य शनिबार मधेस गएका छन् । एकदुई दिनपछि मधेसका विभिन्न ठाउँमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न ठाकुर पनि जानेछन् । राजपाले बिहीबार गरेको पत्रकार सम्मेलनमा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेसमा पार्टीले चुनावी तयारी तीव्र बनाएको बताएका थिए । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, महासचिव रामसहाय यादवलगायत शीर्ष नेता अहिले मधेसमै छन् । मधेसमा फोरम नेपाल पहिलो पार्टी हुने रणनीति बनाउँदै सो पार्टीले चुनावी अभियान सुरू गरेको छ ।

Comment

Related News