• आज : Sunday 24 September 2017
    2:27:58 NST

‘बीचबाटो’बाट हराएका सुशील ब्ल्याकको पर्खाइमा

काठमाडौं, भदौ । नेपाली फिल्म क्षेत्रमा धेरै कलाकारहरु उदाउँदै अस्ताउँदै गर्ने चलन नौलो होइन । वर्षेनी धरै कलाकार यस क्षेत्रमा पाइला टेक्छन् । तीमध्ये केही कलाकार स्थापित भए पनि अधिकांश कसरी आउँछन् र हराउँछन् । अत्तोपत्तो हुँदैन । तर, स्थापित बनिसकेका कलाकार पनि गुमनाम भएको अवस्था नेपाली चलचित्र क्षेत्रमा देखिन्छ । 
चलचित्र ‘आगो’ बाट करिअर सुरु गरेका नायक सुशील क्षेत्री आगोबाट नै निकै हिट भए । एकपछि अर्को गर्दै सफल चलचित्र दिएका सुशील नेपाली फिल्ममा आफ्नो राम्रो चमक रहँदा रहँदै पनि गुमनाम बनेका छन् । सुशीलले सयभन्दा बढी नेपाली फिल्ममा अभिनय गरे भने एक दर्जन भोजपुरी फिल्ममा पनि मुख्य भूमिका निर्वाहा गरेका छन् ।  
एकसमय एकपछि अर्को हिट फिल्म दिने नायक सुशील अहिले फिल्मबाट टाढा छन् । पछिल्लो समय उनी अभिनित फिल्म ‘बिच बाटो’ प्रदर्शनमा आएको थियो । लगातार एकपछि अर्को फिल्म असफल हुन थालेपछि सुशीलको फिल्मी करिअर पनि सुस्ताउन थालेको हो । एक्सन नायकको रुपमा आफूलाई स्थापित गराएका सुशीलले आगोबाट आगो–२ सम्म आइपुग्दा उनको क्रेज घटेको उनले अनुभूति गरेको हुनुपर्छ । दर्शकले पनि यस्तै आकलन गरेका छन् । 
पछिल्लो पटक उनले फिल्म ‘ब्ल्याक’मा अभिनय गरेका छन् । चलचित्रको छायाँकन सकिएर प्राविधिक काम धमाधम भइरहको निर्माण पक्षले जनाएको छ । संभवतः यो फिल्म यसै वर्ष प्रदर्शनमा आउँदैछ । सुशीलले अभिनय गरेका आगो, मुग्लान, मुस्कान, इन्द्रेणी, त्रिवेणी, गंगाजल, बाजी, उपहार, सन्देश लगायतका फिल्महरु हिट हुन् । बीचबाटोबाट छायामा परेका सुशील ब्ल्याकबाट उदाउने प्रयासमा देखिएका छन् । 
 

Comment

Related News