• आज : Friday 17 November 2017
    11:14:24 NST

प्रदेश–२ मा स्थानीय चुनाव : मनोनयन दर्ता उल्लासमय

 

 

मनोनयन राती १२ बजेसम्म लाग्नसक्ने  : 

 
जनकपुर, २१  भदौ ।  स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर २  मा बुधबार उल्लासपूर्ण वातावरणमा उम्मेदवारी दर्ता भएको छ।  ‘उत्सव’ का रुपमा लिइयोउम्मेदवारी दर्तालाई । 
विभिन्न दलका उम्मेदवारले बाजागाजा र नाचगानसहित उम्मेदवारी मनोनयन गराएका छन् । मतदान असोज २ गते हुनेछ।
 
आठ जिल्लाको प्रदेश नम्बर २ मा १३६  तह छन् । सबै स्थानीय तह्रमा भएको उम्मेदवारी दर्ता कुनै उत्सवभन्दा कम थिएन् । राजनीति खिचातानीले प्रदेश २ मा चुनाव हुने र नहुने आशंका व्याप्त रहेकै बेला उम्मेदवारी दर्तामा देखिएको उत्साहले मंसिरमा तोकिएको प्रदेश र केन्द्रको चुनावका लागि पनि सकारात्मक वातावरण बनेको विश्लेषण गरिएको छ ।
 
 ‘प्रदेश–२ मा भएको मनोनयन दर्ताले देशभर नै उत्साह थपेको छ,’ मधेस मामिलाका एक विश्लेषकले भने, ‘मधेसका जनता चुनाव, लोकतन्त्र र परिवर्तन पक्षधर रहेको यो एउटा पछिल्लो उदाहरण पनि हो ।’ 
लावालस्कर र दलबलसहित मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका उम्मेदवार  निकै हर्षित देखिन्थे । 
 
 ‘मधेसमा पनि मतलाई उपयोग गर्ने सिद्धान्त देखियो,’ विश्लेषकले भने, ‘पार्टी परिवर्तन गरेर भए पनि चुनाव चाहिँ लड्नेसम्मको मनोविज्ञान मधेसमा देखियो, यो लोकतान्त्रिक अभ्यासका लागि सुखद पक्ष हो ।’
मनोनयनमा तामझाम  :

जनकपुर   :  संविधान संशोधन नभएसम्म तराई–मधेसमा चुनाव हुन नदिने अडान राख्दै निरन्तर विरोध प्रदर्शन गर्दै आएको राजपा, नेपालले तामझामका साथ धनुषाका १८ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ ।

 
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले जिल्लाका सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएका छन् । केही दलले उम्मेदवार पाउन नसकेर केही तहमा मात्रै मनोनयन दर्ता गराएका छन् ।
 
जनकपुर उपमहानगरपालिकामा मेयर पदका लागि पूर्वउपमेयर लालकिशोर साहले राजपाबाट उम्मेदवारी दिएका छन् । यस्तै उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका मनोज साह र माओवादी केन्द्रका चन्द्रशेखर साह पार्टीका जिल्ला नेता हुन् । एमालेबाट मेयरका लागि उम्मेदवारी दिएका लक्ष्मीनारायण भगत जिल्ला कृषि सेवा कार्यालयका पूर्वअधिकृत हुन् । उनले हालै अधिकृत पदबाट राजीनामा दिएका हुन् ।
 
प्रदेश २ को प्रस्तावित राजधानी जनकपुर  ः उपमहानगरपालिकाको मेयर पदका लागि बुधबार दुई स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार उम्मेदवारहरूले शान्तिपूर्ण रुपमा मनोनयन दर्ता गराएका छन् ।
 
७५ हजार ५९४ मतदाता रहेको जनकपुर उपमहानगरपालिकामा १३० जनप्रतिनिधि चयन हुनेछ । यसका लागि ५८ वटा मतदान स्थल र १०१ मतदान केन्द्र कायम गरिएको छ । 
३ लाख ८९ हजार ३९१ मतदाता रहेको धनुषा जिल्लामा एक उपमहानगर, ११ नगर र ६ वटा गाउँपालिका छन् । जिल्लाभरि गरी ९ सय २९ जनप्रतिनिधि चयन गर्न ५३२ मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
 
महोत्तरीः  महोत्तरीका १५ वटै निर्वाचन अधिकृतको कार्यालयलमा उत्साहपूर्वक उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारहरू आआफ्नो दलका  नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतका कार्यालय पुगेका थिए । कतै ब्यान्डबाजाको धुनमा नाच्दै कतै डिजे साउन्डमा कमर मरक्याउँदै मनोनयन दर्तास्थलमा राजनीतिक दलका उम्मेदवार पुगेको दृश्य कुनै उत्सवभन्दा कम थिएन् । २० वर्षपछि हुन लागेको स्थानीय तह चुनावमा उम्मेदवार, कार्यकर्तामात्र होइन सर्वसाधारणमा पनि उत्साह देखियो । आआफ्नो दलका उम्मेदवारसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका कार्यकर्ताले जित आआफ्नै भएको दाबी गरिरहेको देखिन्थ्यो ।
 
निर्वाचन आयोगले बुधबार बिहान १० देखि ५ बजेसम्म उम्मेदवारीको समय तोकेको थियो । यो समयावधिभित्रै नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकलगायत विभिन्न राजनीतिक दलका उम्मेदवारले पालैपालो विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
 
 

टिकट बाँडदै, उम्मेदवार बन्दै :

 
सप्तरी :  स्थानिय तह निर्वाचनका लागि बुधवार सप्तरीमा पनि अत्यन्त उत्साहका साथ उम्मेदवारले मनोनयन दर्ता गराए । सप्तरीका १८ वटै स्थानिय तह हरुमा उम्मेदवारहरुले निकै तामझामका साथ उम्मेदवारी दर्ता गराए ।
 
प्रमुख दलहरुले वडा स्तरीय उम्मेदवारहरुको टुंगो लगाउन नसकेका कारण जिल्ला भरी नै उम्मेदवारी दर्ता प्रक्रिया निकै ढिलो भएको थियो । सवै जसो राजनीतिक दलहरु प्रमुख पदकै उम्मेदवारको टुंगो लगाउनमै अन्तिम समय सम्म व्यस्त रहेकोले बुधवार विहान सम्म वडा अध्यक्ष तथा वडा सदस्य पदहरुको उम्मेदवारको टुंगो नै लगाउन सकिएको थिएन ।
 
केहि स्वतन्त्र उम्मेदवारहरु वाहेक प्रमुख राजनीतिक दलका उम्मेदवारहरु भने २ बजेपछि मात्रै उम्मेदवारी दर्ता गराउन पुगेका कारण उम्मेदवारी दर्ता ढिलो भएको थियो । प्रायः जसो केन्द्रहरुमा साँझ ५ बजे सम्म उम्मेदवारी दर्ता गराउनेहरुको लाम निकै ठूलो देखिएको थियो ।
ठूल ठूला झण्डा, व्यानर, पार्टीको चुनाव चिन्ह अंकित टिसर्ट, टोपि लगाएर उम्मेदवारीमा स्थलमा जमा भएका पार्टीका नेता कार्यकर्ताहरु आ–आफ्नो पार्टीको पक्षमा नारावाजी समेत गरिरहेका थिए । महिलाहरुको पनि ठुलो संख्यामा सहभागिता रहेको थियो।
 

टिकट बिवादमा कुटाकुट  :

सिरहा  : नेपाली कांग्रेसको जिल्ला कार्यालय सिरहामा बुद्यबार दिउँसो कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । स्थानीय तह निर्वाचनको टिकटको विषयमा पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कार्यालयमै झडप भएको हो।  
 
क्षेत्र नम्बर ३ का सभापति सञ्जय प्रकाश यादव पार्टी कार्यालयमा वडाअध्यक्ष र सदस्यहरुको टिकट लिन पुग्दा झडप भएको थियो । ‘मंगलबार टिकट दिन भन्दा सभापतीले बुद्यबार विहान ७ बजे दिन्छु भन्नुभएको थियो,’ सञ्यजयले भने, ‘बुद्यबार जाँदा आलटाल गरेर झडप निम्तयाउनु भयो ।’
 

Comment

Related News