• आज : Tuesday 26 September 2017
    11:51:11 NST

आदिकविको सम्झना...

इन्दु पूर्वेली
झापा, ३१ असार । एकदिन नारद सत्यलोक पुगिगया लोकको गरुँ हित भनी
ब्रह्मा ताँही थिया प¥या चरणमा खुशी गराया अनि.........
वाल्मीकिद्वारा लिखित संस्कृत रामायणको आदिकवि भानुभक्त आचार्यद्वारा अनुवादित उक्त अंश संगीतमय वाचन गरे–साहित्य चौतारी झापाका संरक्षक देवीभक्त श्रेष्ठले । २०४ औं भानुजयन्ति र साहित्य चौतारी झापा स्थापनाको १८ औं बार्षिक उत्सवको अवसर पारेर झापाको विर्तामोडमा आयोजित सम्मान समारोहमा साहित्य क्षेत्रमा क्रियाशील पुराना श्रष्टादेखि नयाँ अनुहार पनि थिए । रामायणका उक्त श्लोक सस्वर वाचन गरिरहँदा सभा शान्त थियो ।
साहित्य, संस्कृति, कला तथा संगीतको संरक्षण र संवद्र्धनका लागि झापाका समाजसेवी देवीभक्त श्रेष्ठ÷उर्मिला विमली श्रेष्ठको संरक्षकत्व तथा अग्रज साहित्यकारहरुको सहभागितामा २०५६ सालमा साहित्य चौतारीको स्थापना भएको हो । साहित्य चौतारीले प्रत्येक बर्ष आदिकवि भानुभक्त आचार्यलाई सम्झन्छ । आचार्यको सम्झनासँगै झापामा दशकौंदेखि क्रियाशील साहित्यकारहरुलाई विशिष्ट साहित्य सम्मान तथा नवश्रष्टाहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गर्दै आएको छ।
सोही क्रममा शनिबार विर्तामोडमा आयोजित कार्यक्रममा चारदशकदेखि साहित्य लेखनमा क्रियाशील साहित्यकारद्वय रोहिणीविलास लुइटेल र देशु वनेम सुब्बालाई विशिष्ट साहित्य सेवा सम्मान प्रदान गरियो । कविता, निबन्ध, हास्यब्यंग्य लेखनमा सक्रिय लुइटेलका बुद्धि बारो, अपराजेय, इटहरीबाट आमाछोरीलगायतका कृति प्रकाशित छन् । यस्तै देशु वनेमका अशान्ति (उपन्यास), उज्यालोतिर र देशुका दुखाइहरु दुई कवितासंग्रह प्रकाशित छन् ।
यसैगरी  एक्लो प्रयत्नबाट झापाको धुलाबारीमा त्रिफला पुस्तकालय स्थापना गरी राष्ट्रिय पुस्तकालय बनाउन सफल ब्यक्तित्व तथा लेखक प्रेमप्रकाश फलाहारीलाई पनि विशिष्ट साहित्य सेवा सम्मान प्रदान गरिएको थियो। 
फलाहारीका हिमाली यात्रा, परिचर्चा निबन्ध संग्रह प्रकाशित छन् भने सहलेखनमा दर्जनौ कृति प्रकाशित छन्। पूर्वका मोतीराम भनेर चिनिने अग्रज साहित्यकार चुडामणि रेग्मीले सम्मानित प्रतिभालाई सम्मानपत्र, दोसल्ला र नगद पुरस्कार प्रदान गरेका थिए । 
सम्मानपछि  आयोजित कार्यक्रममा संरक्षक देवीभक्त श्रेष्ठले स्रष्टा सम्मानका लागि साहित्य चौतारीमा रहेको तीनलाख ५१ हजारको कोष बृद्धि गरी ११ लाख, ११ हजार १११ रुपैयाँ पु¥याउने उद्घोष गरे । 
कैले रातो लेखें
कैले तीतो लेखें
कैले पिरो लेखें
घाम लेखें
जून लेखें
कैले नून लेखें
तर त्यसको नाम लेख्न विर्सेछुँ
त्यसको दाम लेख्न विर्सेछु ।
दर्जन बढी साहित्य सर्जकले सिर्जना वाचन गरेको कार्यक्रममा देशु सुब्बाले कविता शीर्षकको उक्त कविता वाचन गर्दै आदिकवि कालदेखि हालसम्म पनि सिर्जनाको मूल्य नभएको तर्क प्रस्तुत गर्दा सभामा ताली गुञ्जिएको थियो । साहित्यवर्ष, संगीतवर्ष र कलावर्षमा विभाजन गरेर बार्षिक उत्सव मनाउने क्रममा साहित्य चौतारीले यसबर्ष साहित्यवर्ष मनाएको हो। संगीत, कला र साहित्य क्षेत्रमा क्रियाशील तर ओझेलमा परेका श्रष्टालाई खोज्न साहित्य चौतारीको स्थापना गरिएको संस्थापक अध्यक्ष शिवशङ्कर थापाले बताए । 
वि. सं. १८७१ असार २९ गते जन्मिएका आदिकवि भानुभक्त आचार्यका प्रश्नोत्तर, बधूशिक्षा, भक्तमाला, लगायतका कृति प्रकाशित छन् भने वाल्मीकि रामायणको अनुवाद गरेर प्रत्येक नेपालीको जन–जिव्रोमा पु¥याउँदै नेपाली वाङमयको ज्योति बन्न सफल छन्। 
‘पहाड्को अति बेस देश् तनहुंमा श्रीकृष्ण ब्राहृमण् थिया ।
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।
 

Comment