• आज : Sunday 24 September 2017
    2:25:42 NST

आत्मकथाः ‘मदनको म’ भदौमा

काठमाडौं, असार । प्रख्यात हास्यकलाकार जोडी महका मदनकृष्ण श्रेष्ठको आत्मकथा  ‘महको म’ भदौ २० मा सावर्जनिक हुने भएको । उक्त जानकारी झम्सिखेलस्थित मोक्ष रेष्टुरेन्टमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत गरियो । 
श्रेष्ठ र प्रकाशक फाइनप्रिन्टका कार्यकारी अधिकृत नीरज भारीले पुस्तक करारमा हस्ताक्षर गरेर सुरु भएको उक्त कार्यक्रममा श्रेष्ठले भने, “म त साधारण मानिस । बेन्जामिन फ्र्याङ्लिन, अब्राहम लिङ्कन, महात्मा गान्धी, बीपी कोइरालाजस्तै मेरो कुनै ठूलो योगदान छैन, मेरा आत्मकथा कसले पढ्ला, मेरो जीवनमा त्यस्तो के उल्लेख्य होला भनेर सोच्थें । तर पछि साथीभाइको सल्लाह, प्रेरणा, दबाबले मैले लगभग ६ वर्ष अघि आफूले आत्मकथा लेख्न सुरु गरेको थिएँ ।” 
उनले थपे, “मेरो श्रीमतीलाई क्यान्सर भएपछि म उनको उपचारका लागि बैङ्कक, इन्डिया कता कता जानुप¥यो । फेरि त्यस्तो बेला लेख्ने मुड पनि हुँदैनथ्यो । तैपनि कहिलेकाहीँ श्रीमतीले अलि आराम महसुस गरेको बेला लेख्थें । फेरि पार्किन्सन्स  रोग लागेपछि त झन् लेख्दा हात काम्ने हुनाले लेख्न धेरै समय लाग्यो ।”
पत्रकार सम्मेलनमा बोल्दै महका अर्का सदस्य हरिवंश आचार्यले सबै मानिसको आत्मकथा हुने बताए ।  “कसैले लैख्छन्, अरु धेरैले लेख्दैनन् । म खुसी छु, मदन दाइको पनि आत्मकथा आउन लागेको छ । यो मेरो पनि आत्मकथा हो, त्यसैले मलाई मेरै आत्मकथा आउन लागेझैं महसुस भइरहेको छ,” उनी पुलकित देखिए ।
फाइनप्रिन्टका भारीले चार वर्ष अघि हरिवशंको “चिना हराएको मान्छे” प्रकाशन गर्ने सौभाग्य प्राप्त गरेका उललेख गर्दै उनकै कलाकारिताका सहयात्री श्रेष्ठको आत्मकथा पनि प्रकाशन गर्न पाउँदा हर्षित भएको टिप्पणी गरे । उनले श्रेष्ठ र उनकी श्रीमनी यशोदाको ४४औं विवाह वार्षिकी पारेर पुस्तक सार्वजनिक गर्न लागेको पनि बताए । 

Comment