• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018

राजा, धर्म लगायत सर्वपक्षीय हितका लागि राप्रपा नेतृत्व हस्तान्तरण अपरिहार्य

बाघ आयो, बाघ आयो भनेर दुई पटक गाउँले झुक्याउने गोठालालाई तेस्रो पटक साँच्चिकै बाघ आउँदा सहयोग प्राप्त भएन । आम नेपालीले पढेको लोक कथाको पाठ हो यो । पटक–पटक दुनियाँ ढाँटेर विश्वसनीयता गुम्दा हबीगत के हुन्छ भन्ने नैतिक शिक्षा छ यसमा । आम मानिस र नैतिकवानहरुका लागि अनुसरणयोग्य शिक्षा छ यसमा ।

 

तर कमल थापाको प्रसंग भने फरक छ । कुर्सी पाउन गणतान्त्रिक संविधानलाई गर्बका साथ विश्वकै उत्कृष्ट भन्ने कमल नैतिकवान, आम मानिस कुनै होइनन् । उनकै बिगत र वर्तमानले यस्तो दर्शाउछ । बलियो भएँ भन्ने महसुस हुँदा राजालाई च्यालेन्ज गर्ने र थ्रेसहोल्ड कटाउन नसकेर ‘भिजेको मुसा’ बन्दा राजतन्त्रको माला जप्ने खुबी छ उनमा । त्यसैले रत्नपार्कको चटके जस्तो दुनियाँ छक्याउने नैतिकवान आम मानिस किञ्चित हुन सक्दैनन् ।

 

मुसाको कुरा


बहुदल शासनकालमा संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको हैसियतमा लोकेन्द्रबहादुर चन्दले कमललाई जहाज प्वाल पार्ने, जहाज डुब्न लाग्दा सुरुमा हामफाल्ने मुसा भनेर न्वारान गरीदिए । सार्वभौम संसद, चौथो अंग, आम नागरिक, राजनीतिकवृत्त साक्षी रहेको सार्वजनिक जानकारीको विषय हो यो ।

 

यद्यपि अहिले आएर नेता चन्दले आफूलाई मुसाको पगरी लगाइदिएका होइनन् भन्न खोज्दैछन् कमल । उनी मात्र कुरा बुझ्ने संसद, पत्रकार, जनता, नेता सबै बेवकुफ हुन् भनेजस्तो गर्दैछन् उनी । दुनिया हसाउने यस्तो चालले कमल आफै हाँसोको पात्र (जोकर) साबित भएका छन् । इतिहासमा दर्ज भएको सत्य हत्केलाले छेकिन्न ।

 

चन्द सरकारको मन्त्रीको हैसियतमा झण्डा हल्लाउदै संसदमा उपस्थित भएर आफैं मन्त्री रहेको सरकारको विपक्षमा कमलले मतदान गरेका थिए । कमल आफैंले एक समय, कान्तिपुर टेलिभिजनको अन्तरवार्तामा ‘मुसा प्रकरण’ आफूबाट भएको सबैभन्दा ठूलो राजनीतिक भूल भनेर स्वीकार गरीसकेको तथ्य हो ।

 

गाई बेचेकोमा माफी


अहिले आएर ‘प्रायोजित’ अन्तरवार्तामा सत्य तोरमरोड गर्न खोज्नुमा कुनै तुक छैन । किनकि एक झुट लुकाउन सय झुट बोल्नुपर्छ । गाईमा भोट हाल्ने जनता, कार्यकर्तासँग बरु सार्वजनिक माफि मागे बेश हुन्छ । संविधानसभा परित्याग गर्ने कार्यसंम्पादन समितिको निर्णय किन दुई दिनमा उल्टाउनुपर्यो भन्ने सत्यतथ्य जनतामाझ राखे ठिक हुन्छ ।

 

उपप्रधानमन्त्री सहित दुईवटा मन्त्रालय हात पार्न राजा, मतदाता र कार्यकर्तालाई किन धोका दिइयो भन्ने प्रष्ट पारे उपयुक्त हुन्छ । किनकी नेपाली जनता सोझा होलान् लाटा छैनन् । ३७ बाट एक सीट त्यसै आएको होइन ।

 

राजाभन्दा बलियो
अनुकूल हुँदा राजालाई नै उनले पटक–पटक चुनौति दिए, धोका दिए । २५ सीट प्राप्त हुनासाथ राजतन्त्र नभएर हिन्दु मुद्दाको कारण भोट पाएको भने । राप्रपा नेपालको पहिलो महाधिवेशनको मुखमा राजतन्त्र परित्याग गर्ने प्रयास गरे । तत्कालनी महामन्त्री चन्द्रबहादुर गुरुङलाई यसबारे पटक–पटक प्रेसमा बोल्न लगाए । उनको भनाईको रेकर्ड कान्तिपुर दैनिकमा सुरक्षित छँदैछ ।

 

आफू भजनमण्डली होइन भन्ने तुच्छ बोली बोले । राजालाई पो मेरो आवश्यकता छ, बनाई दिन र बिगार्न सक्छु भन्ने आडम्बर सार्वजनिक गरे । राजाले पार्टी फुटाएको भन्नेसम्म आरोप लगाए । हिन्दु राज्यको प्रस्तावना संसदमा दर्ता गराए पनि यसबारे छलफल कहिले अघि बढाएनन् । कुर्सी बार्गेनमा प्रस्ताव तुहाए, फिर्ता लिए ।

 

क्याबिनेटमै दाबी
एमालेसँग लेनदेन नमिल्दा, ‘सबै त्यागेर हामी आयौं, यति सानो कुरामा हलो अड्काउनु भएन’ भन्दै क्याबिनेट बैठकमै कमल कड्किएको कुरा त्यतिखेरै सार्वजनिक भएको हो । अर्थात् कमलले राजतन्त्र र हिन्दु अधिराज्यको मुद्दा सिध्याउन दोहोरो भूमिका खेले । गणतन्त्रवादीलाई ठूलो सहयोग गरे, गुण लगाए । संघीय मामिला मन्त्री भएर संघीयता संस्थागत गरे ।

 

साधु सन्त हिन्दुवादी जनताले सडक तताएको बेला, हिन्दु राष्ट्रको लागि आमरण अनशन चलीरहँदा साथ सहयोग गरेनन् । आन्दोलनको अगुवाई कसले गर्ने भन्ने जस्ता स्वार्थी कुरा अघि सारेर आन्दोलन उत्सर्कमा पुग्न दिएनन् । धर्मनिरपेक्षवादीलाई सहयोग पुर्याए । त्यही गुण बापत उपप्रधानमन्त्रीको झण्डा हल्लाए ।

 

धेरै खरानी
निरीह कमलले अहिले धेरै खरानी दलेको देखिन्छ । राजावादी, हिन्दुवादी देखिनु उनको बाध्यता हो । बाँच्ने उनीसँग अन्य कुनै उपायनै छैन । समाजिक सञ्जालमा उनले ‘शुभ प्रभात’ लेखे भने कुर्सीको भोक र उत्कृष्ट संविधानको गाली बर्सिन्छ । ‘शुभकामना’ मात्र दिए भने राजा, धर्म बेचेको आक्रोश पोखिन्छ । अर्थात् कमललाई राजादेखि रंकसम्म कसैले विश्वास गर्दैनन् ।

 

त्यसैले कुतर्कको श्रृङ्खला आरम्भ गरेका छन् । भाई गणेश थापालाई आफूले सांसद नबनाएको, निर्णय मात्र कार्यान्वयन गरेको भन्छन् । यस्तै हो भने, कुनै दिन, उत्कृष्ट संविधान मेरो ओठले बोलेको हो मैले होइन । उपप्रमको कुर्सीमा मेरो शरीर बसेको हो म होइन भन्न के बेर ।

 

पार्टी हस्तान्तरण
पार्टीलाई आठ महिना एकीकृत राख्न असक्षम रहे उनी । पार्टी कब्जा त गरे होलान् तर बादरको पुच्छर लौरो न हतियार । थ्रेसहोल्ड कटाउन सकेकन्, असफलताको अपजस कांग्रेसमाथि थोपरे । प्रत्यक्ष चार सीटको लागि संघीय संसद, प्रदेश सभाका सबै सीट बली चढाए । कांग्रेससँग पूरै संझौता गरे । भोट पाउने मुखै बन्द गरेर लाखौं कार्यकर्ताको भविष्य अन्धकारमय बनाए ।

 

त्यसैले नेल्सन मण्डेला जस्तो बेलैमा सन्याश लिए बचेको सम्मान रहन्थ्यो । पार्टी नेतृत्व बुद्धिमान तामाङ, धवल शमशेर, जयन्त चन्द, राजेन्द्र लिङ्देनको पुस्तालाई हस्तान्तर गरे वेश हुन्थ्यो । राजा धर्मको मुद्दा उकास्न बल पुग्थ्यो, जो कमलको नेतृत्वमा असंभव छ — उनकै विगत यसको प्रमाण हो ।

 

अध्यक्ष पदको कुर्सीमोह, अहमको निरन्तरता र राप्रपा एकतामा भाँजो हाल्ने दुराशय राजा, धर्म, पार्टी, कार्यकता कसैको हितमा छैन । कमल स्वयमकै हितमा छैन । राष्ट्रवादी आन्दोलन तुहाउने भए अर्कै कुरा नत्र कमलले निकास दिनु बाहेक अरु कुनै विकल्प छैन । चेतना भया ।

 

प्रतिकृया दिनुहोस

पतिसँगको सम्बन्ध : यसकारण आउनसक्छ दरार

पतिपत्नी बीचको सम्बन्ध  । कहिले झगडा त कहिले मिलनमा नै बित्ने गरेको  पाइन्छ  । समय समयमा झगडा पर्नु पति पत्नीको बीचमा समस्याको कुरा त होइन । तर

महाअष्टमी : महागौरी पुजन गरिदै, " कसरी पुजिन्छिन् त ?"

माता दुर्गाको आठौं अवतारकी देवी हुन् महागौरी। दुर्गापूजाको आठौं स्वरुप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाईन्छ। यिनको शक्ति अमोघ

दूर्गा माको उत्पत्ती ? : " कसरी भएको थियो "

  राक्षसहरुको अत्याचारका कारण आजित भएका देवताहरुले आफ्नो समस्याको बारेमा जब ब्रह्माहरुलाई सुनाएका थिए कि त्यससँगै उनीहरुले ब्रह्मालाई यो पनि