• आज : Monday 28 May 2018
    9:21:36 NST

एमाले–माओवादी पार्टी एकता घोषणा आज

काठमाडौं, ३ जेठ ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा आज हुने भएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बसेको एमाले स्थायी कमिटि बैठकले एमाले अध्यक्ष र माओवादी अध्यक्षबीचको सहमति अनुमोदन गरेसँगै आज पार्टी एकता घोषणाको सम्भावना बढेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिलाई अनुमोदन गर्दै माओवादी केन्द्रबीचको एकताको मिति बिहीबार संयोजन समिति मार्फत घोषणा गर्ने निर्णय भएको हो ।
एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुने भएको छ । तीमध्ये एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० जना हुनेछन्। ओली र दाहालबीच एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति भएको छ। चुनाव चिन्ह भने एमालेले प्रयोग गर्दै आएको सूर्य नै हुनेछ।
आगामी महाधिवेशनसम्म दुवै अध्यक्षले सामूहिक नेतृत्व गर्नेछन्। एमाले स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले दाहालसँग भएको सहमतिबारे ब्रिफिङ गरेका थिए। दुवै नेताबीच भएको सहमतिलाई बिहीबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा पेस गर्ने र अन्तिम रुप दिइने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।
पार्टी एकता संयोजन समितिको बैठकले गर्ने निर्णय दुवै पार्टीले अनुमोदन गर्नेछ। त्यसका लागि एमालेले बिहीबार नै केन्द्रीय कमिटीको बैठक बोलाएको छ। एमाले उपाध्यक्ष बामदेव गौतमले भने एमालेका पूर्वमहासचिव स्व. मदन भण्डारीको स्मृतिमा बिहीबार नै पार्टी एकता घोषणा हुने दाबी गरे । एमालेको पुरानो पार्टी कार्यालय मदननगर बल्खुमा ओली र दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।
आज मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस हो । एमालेका तत्कालीन महासचिव भण्डारी र जीवराज आश्रितको जेठ ३ गते दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएको थियो । मदन आश्रित स्मृति दिवसको अवसरमा एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरु पनि सहभागी हुनेछन् । लगतै पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ । अपराहृन पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा हुने दुबै दलका नेताहरुले बताएका छन् ।
त्यसो त, माओवादी र एमाले परस्पर विरोधजस्तो भए पनि १७ असोज २०७४ मा गठबन्धन बनाएर चुनाव लड्ने सहमति गर्दै सहकार्यको सुरुवात भएको हो ।  प्रदेश र प्रतिनिधिसभा चुनावमा ६०र४० को भागवण्डाका आधारमा उम्मेदवार उठाए र सफलता पनि बटुले ।
त्यसपछि , गत ७ फागुनमा दुई दलका शीर्ष नेताहरुले पार्टी एकतासम्वन्धी सात बुँदे सहमति गरे । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त ‘मार्क्सवाद(लेलिनवाद’ हुने सहमति गरिएको भएपनि केन्द्रीय समितिको भागवण्डा लगायतमा सहमति हुन नस्कदा एकता प्रक्रिया लम्बिँदै गएको थियो ।  यसबीचमा दुई अध्यक्ष ओली र प्रचण्डबीच थुप्रै ‘वान टु वान’ वार्ता भएपनि तार्किक निष्कर्ष निस्कन नसक्दा नेकपा स्थापना दिवस अर्थात वैशाख ९ गते हुने भनिएको पार्टी एकता घोषणा हुन सकेन छ । त्यपपछि  माक्र्स दिवसको अवसर पारेर पार्टी एकताको अर्को मिति बैशाख २३ गते घोषणा गर्ने तय भएको भए पनि दुई पार्टी बीचको भागवण्डा, चुनाव चिह्न लगायतमा सहमति जुट्न सकेको थिएन ।
 

Comment

Related News