• आज : Monday 28 May 2018
    1:50:26 NST

परराष्ट्रमन्त्री ज्ञवालीले भने : ‘मुख्यमन्त्री राउतले कूटनीतिक मर्यादा नाघे’

 
 
काठमाडौँ, ३१ वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादा र राजनीतिक संस्कार विपरीत भएको बताए । 
सोमबार बसेको संसद बैठकमा सांसदहरूले मोदीको भ्रमणबारे सदनलाई प्रधानमन्त्रीको जानकारीपछि प्रतिप्रश्न गरेपछि जवाफ दिँदै मन्त्री ज्ञवालीले सो अभिव्यक्ति संविधानसम्मत पनि नभएको जनाए । 
सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले भने, ‘जे गर्नुभयो त्यो संविधानसम्मत र मर्यादासम्मत भएन । राजनीतिक संस्कार र आचरण अनुरुप पनि भएन । अभिव्यक्ति कूटनीतिक मर्यादा र राजनीतिक संस्कार विपरीतको काम हो ।’
कतिपय सांसदहरूले ‘वान टु वान’ वार्तालाई अनावश्यक रूपमा बुझेको भन्दै ज्ञवालीले अन्तर्राष्ट्रिय रूपमा यस्ता वार्ता चल्ने गरेको स्मरण गराए । ज्ञवालीले सरकारलाई जनताको साथ रहेको भन्दै सत्ता टिकाउनका लागि लुकेर तमसुक गर्नु आवश्यक नरहेको बताए । 
उनले मोदीको भ्रमणको सुरक्षा प्रवन्ध नेपाली सुरक्षाकर्मीले नै गरेको भन्दै द्विपक्षीय सहमतिमा निजी अङ्गरक्षकमा रूपमा भारतीय सुरक्षाकर्मी नेपाल आएको बताए । सदनमा जवाफ दिँदै ज्ञवालीले भ्रमणको मिति दुवै देशका परराष्ट्र मन्त्रालयको समन्वयमा तोकिएको पनि बताए । 
उनले पञ्चेश्वर विवादलगायतका धेरै विषयमा समय तोकेर नै सहमति भएको भन्दै आयोजनाहरूमा प्रगति हुने विश्वास व्यक्त गरे । विराटनगरको फिल्ड अफिस व्यवस्थापन, सीमा समस्यालगायतका विषयमा पनि द्विपक्षीय छलफल भएको मन्त्री ज्ञवालीले बताउनुभयो । उहाँले संंिवधान जारी र नाकाबन्दीविरुद्ध लिएको अडान सही भएको पुष्टि भएको बताए । 
नाकाबन्दीका समयमा नाकाबन्दी हो वा होइन भन्ने दल र व्यक्तिहरूले नाकाबन्दी नै भएको स्मरण गरेको भन्दै ज्ञवालीले व्यङ्ग्य गरे । उनले भारतीय सांसद कीर्ति आजादको अभिव्यक्ति दुई देशकै हित विपरीत रहेको बताए । 
जनकपुरमा झण्डाको गलत प्रयोग भएकोबारे सांसदले मन्त्रीले ज्ञान लिनुपर्ने भन्ने आलोचनामा ज्ञवालीले आफू विद्यार्थी नै रहेको भन्दै सबै कुरा सिक्न तयार रहेको जवाफ दिए । 
ज्ञवालीको जवाफअघि एमाले सांस् भीम रावलले मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्ति संविधानको व्यवस्था विपरीत भएको भन्दै आपत्ति जनाएका थिए रावलले मुख्यमन्त्री अभिव्यक्ति संविधानले तोकेको परराष्ट्र नीति सञ्चालन विपरीत रहेको बताए । 
नेपाली काँग्रेसका गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीका विगतका अभिव्यक्तिको स्मरण गराउँदै हिजो अरूलाई लम्पसारवादी भन्ने प्रधानमन्त्रीले अहिले सुपर लम्पसारवादी भन्ने पाउने कि नपाउने भन्दै प्रश्न राखेका थिए । उनले विवेकशील साझा पार्टीको कार्यालयबाट नाकाबन्दीको विरोधको व्यानर हटाएको विषयमा पनि आलोचना गरे । 
नेपाली मिडियालाई सरकारले विभेद गरेको भन्दै थापाले आलोचना गरेका थिए । जनताले नाकाबन्दी भन्ने अधिकारलाई सरकारले सम्मान नगरेको थापाको आरोप छ ।
नेकपा माओवादी केन्द्रका सांसद पम्फा भुसालले मोदीको भ्रमणका दौरान भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको विषय गम्भीर र आपत्तिजनक रहेको बताइन । 
भुसालले मोदीको भ्रमणको मिति एकपक्षीय रूपमा भारतबाट तय हुनु कूटनीतिक असक्षमता भएको भन्दै आलोचना गरे । उनले अरुण तेस्रोको शिलान्यास कार्यान्वयन हुनुअघि संसद्को दुई तिहाइ मतबाट अनुमोदन हुनुपर्ने पनि माग राखे । 
नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले भ्रमणपछिको संयुक्त वक्तव्यमा धेरै विषय मौन रहेको बताए । यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणका समयमा जति पनि वक्तव्य विस्तृत नभएको सिंहको भनाइ थियो ।
एमाले सांसद महेश बस्नेतले प्रदेश २ का मुख्यमन्त्रीको आलोचना गर्दै राष्ट्रिय झण्डा प्रयोगबारे प्रशिक्षण दिनुपर्ने बताए । बस्नेतले कीर्ति आजादको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत भएको टिप्पणी गरे ।
काँग्रेसकै सांसद डा. मीनेन्द्र रिजालले प्रधानमन्त्रीले सदनका दिनुभएको जवाफ स्पष्ट नभएको भन्दै प्रदेश २ का मुख्यमन्त्रीको विषयमा स्पष्ट धारणा माग गरेका थिए । प्रदेश २ मा एमाले समर्थनको सरकार रहेको भन्दै मुख्यमन्त्रीले दिएको अभिव्यक्तिलाई प्रधानमन्त्रीले बेठिक मात्र भनेर दायित्व पूरा नहुने बताए । 
जनमोर्चाका दुर्गा पौडेलले मुक्तिनाथको निषेधित क्षेत्रमा भारतीय मिडियालाई प्रवेश दिइएको घटनामा सरकारको जवाफ माग गरे । स्वदेशी मिडियालाई विभेद गरिएको भन्दै पौडेलले आलोचना गरेका थिए । 
 

Comment

Related News