• आज : Monday 28 May 2018
    1:50:48 NST

इजरायलमाथि इरानको रकेट आक्रमण : बढ्यो युद्धको खतरा

 
एजेन्सी, २७ बैशाख ।  विहीबार इरानले इजरायलमाथि पहिलो पटक प्रत्यक्ष आक्रमण गरेको छ । उसले सिरियाबाट इजरायलमा रकेट आक्रमण गरेको हो ।  इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणबाट सामान्य  क्षति भएको भए पनि कुनै पनि हताहती भने नभएको जानकारी दिए। 
इजरायली अधिकारीहरुले यसको कडा सैन्य उत्तर फर्काउने चेतावनी पनि दिएका छन् । यद्यपि इरानको तर्फबाट एक्कासी यस किसिमको आक्रमण हुनुलाई धेरैले आश्चर्यको रुपमा लिएका छन् । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौताबाट बाहिरिने निर्णय गरेको भोलिपल्ट यस किसिमको घटना भएको हो ।  इरानको संसदमा पनि अमेरिकाको यो कार्यको घोर विरोध गरिएको थियो । इजरायलले अमेरिकाको साथ दिँदै आएको कारण इरानले इजरायलमाथि आक्रोश पोखेको हुनसक्ने विश्लेषकहरुले बताएका छन् । 
इजरायलले विहीबार इरानियम फोर्सले २० ओटा रकेट आक्रमण गरेको र त्यसमध्ये केहीलाई भने आकाशमै निस्तेज पारिएको जानकारी दिएको छ । इरानले इजरायलको विवादित क्षेत्र गोलान हाइट र आईरोन डोम सुरक्षा प्रणालीमा आक्रमण गरेको बताइएको छ । 
 
यसको प्रतिक्रियामा सिरियाको राजधानी सहर दमास्कसमा पनि इजरायली जेटले आक्रमण गरेको थियो । सिरियन हवाई सुरक्षाबलहरुले रातभर फायरिङ्ग जारी राखेका थिए । इजरायली अधिकारीले अहिलेको युद्धको लक्ष्य सिरियामा बढ्दो क्रममा रहेको इरानको प्रभाव कम गर्नु रहेको बताएका छन् ।  सिरियाले पनि इजरायलबाट आएको ३० भन्दा बढी मिसाइलहरु रोकेको दाबी गरेको छ । 
यसैबीच उत्तरी इजरायलको म्युटा सहरका मानिसहरुलाई सरकारले सुरक्षित क्षेत्रमा जानका लागि आग्रह गरेको छ ।  अहिले इरानले आक्रमण गरेको गोलान हाइट इजरायल र सिरियाको सीमाक्षेत्रमा रहेको छ । जुन  ४६० वर्ग माइलको रहेको छ । 
सन् १९६७ मा इजरायलले यसलाई आफ्नो नियन्त्रणमा लिएको थियो । सन् २००० मा यो क्षेत्र फिर्ता गराउनका लागि इजरायल र सिरियाको बीचमा वार्ता पनि भएको थियो तर सो वार्ता फलदायी भने हुन सकेन । 
सञ्चारमाध्यमहरुमा बताइए अनुसार इजरायलले यो आक्रमणलाई भिन्न किसिमले हेरिरहेको छ । उसले यसको प्रतिक्रिया दिइसकेको भए पनि यस विषयमा थप विवरणहरु जारी भने गरेको छैन । जसको कारण पनि यो घटना यतिमै सकिने सम्भावना निकै कम रहेको बताइएको छ । 
सिरियाको समाचार संस्था सानाले दिएको विवरणअनुसार इजरायलले आक्रमण गरेको १० ओटा रकेट सिरियन सेनाले ध्वस्त पारेको छ । यस विषयमा आफू केही पनि बोल्न नचाहने इजरायली सेन्य विभागले  जनाएको छ । 

Comment

Related News