• आज : Monday 28 May 2018
    9:26:24 NST

चलचित्र चलाउन अनेक फण्डा !

काठमाडौं, १८ बैशाख । पछिल्लो समय नेपाली चलचित्र चलाउन निर्माण पक्षले विभिन्न फण्डा गर्ने गरेको छ । चलचित्र चलाउन कहिले विभिन्न टाइटल गीतको ‘कभर संङ्स’ प्रतियोगिता त कहिले नगर परिक्रमा । त्यतिमात्र नभएर दर्शक बटुल्न प्रविधिको प्रयोगको त कुरा गरी साध्य छैन । चलचित्र चल्नु कहिले हो केहिले निर्माण घोषणा भएदेखि छायांकन सम्पन्न नहुँदासम्म विभिन्न फण्डा अपनाउने गरिएको देखिदै आएको छ ।
जब चलचित्रको रिलिज मिति तोकिन्छ अनि निर्माण पक्ष तात्छ चलचित्र प्रचार प्रसारमा ।  पोस्टर सार्वजनिक, ट्रेलर रिलिज, मोफसलको दौडधूप इत्यादि । आम दर्शकलाई चलचित्रको विषयमा जानकारी दिलाउनु सकारात्मक पक्ष हो । तर, चलचित्रको कथावस्तु केही हुँदैन, प्राविधिक पक्ष पनि उस्तै कमजोर हुन्छ, तरपनि निर्माण पक्षले आफ्नो चलचित्र अब्बल भएको दाबी गर्न छाड्दैनन् । यो नेपाली चलचित्रमा पछिल्लो समय देखिएको तीतो यथार्थ पनि हो । हालसम्म एकाध चलचित्रले दर्शकको साथ पाएको भए पनि अधिकांश चलचित्र ३–४ दिनमै हलबाट उत्रिने गरेका छन् । उनीहरुको प्रचार प्रसार र प्रदर्शन अगाडि गरिएको दौडधूपलाई मुल्यांकन गर्ने हो भने यी चलचित्रले कम्तिमा पनि एक महिना चल्लुपर्ने स्वयं चलचित्र क्षेत्रका विज्ञहरु नै बताउछन् । अर्को चलचित्र क्षेत्रमा देखिएको नराम्रो पक्ष चलचित्रका गीतलाई डलर खर्चेर बुस्ट गर्ने प्रवृत्ति पनि हो । चलचित्रले लगानी सुरक्षण गर्ने अवस्था हुँदैन, तीनै चलचित्रका गीतहरु युट्युवमा  रातारात हिट भएको अवस्था देखिन्छ । यसो हुँदा फाइदा निर्माण पक्षलाई हुँदैन । नेपालको पैसा विदेशिएको हुन्छ भन्ने उनीहरुले हेक्का राख्नुपर्ने हो त्यो पनि राखेको पाइँदैन ।  
यसैबीच हालै पुनःअर्को फण्डा देखियो । एक समयको नेपालको राष्ट्रिय खेल डन्डीबियोमाथि बनेको फिल्म ‘डमरुको डन्डीबियो’ले टुंडिखेलमा ‘ठ्याक लाउने’ च्यालेन्ज राख्यो । फिल्मका मुख्य पात्र खगेन्द्र लामिछाने समेत उपस्थित भएको ठ्याक लगाउने प्रतिस्पर्धामा एक सय भन्दा बढी सहभागी भएका थिए । च्यालेन्जमा सिठ्ठो ठ्याक लगाउनेलाई रु.पच्चीस सय प्रदान गरियो । यस्तै छैंटो ठ्याक लगाउनेलाई पन्ध्र सय रुपैयाँ र पाँचो ठ्याक लगाउनेलाई भने पाँच सय बराबरको अन्य साम्रागी दिइयो । टुंडिखेलमा खगेन्द्र सहित कलाकारहरु आशान्त शर्मा, लक्ष्मी वर्देवा निर्माताद्वय नोर्बु छिरिङ घले, विनोद गुरुङ लगायतले ठ्याक लगाए । छेतेन गुरुङ निर्देशित ‘डमरुको डन्डीबियो’ मा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।
यही बैशाख २१ गतेदेखि प्रदर्शनमा आउने फिल्म डमरुको डन्डीबियो प्रतिक्षामा छ । समृद्धि इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको सिनेमामा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । सिनेमामा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ । चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट पनि दिइसकेको छ ।
यसरी चलचित्र चलाउन विविध फण्डा अपनाउने गरेको भए पनि यथार्थमा चलचित्रले दर्शकको साथ नपाउँदा उनीहरुको पोष्टर र पम्पलेटको पैसा उठाउन पनि मुस्किललको अवस्था आउन थालको छ । एकताका चलचित्र चलाउन अर्थात दर्शक बटुल्नको लागि हरेक चलचित्रमा आइटम गीतको राम्रै प्रभाव देखिन्थ्यो । त्यो क्रम विस्तारै हटेपनि अहिले गीतलाई युट्युबमा हिटबनाएर दर्शक तान्ने प्रयास गरिएको देखिन्छ । गीत हिट भएका चलचित्रलाई दर्शकले राम्रै साथ दिने गरेको पाइन्छ ।
 

Comment

Related News