• आज : Monday 28 May 2018
    9:25:44 NST

सभामुखद्वारा डा.जोशीको “नेपालको कृषि, अर्थतन्त्रः विकास चुनौती र अवसरहरु” कृतिको लोकापर्ण

 
काठमाडौँ, ८ वैशाख  ।  नेपालको साधन, श्रम र सीपको दृष्टिकोणले धनी भएकाले समृद्धिका लागि अब ठिक ढंगले योजना बनाएर अघि बढ्न आवश्यक रहेको सभामुख कृष्णबहादुर महराले बताए । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीको “नेपालको कृषि, अर्थतन्त्रः विकास चुनौती र अवसरहरु” नामक कृतिको आज यहाँ लोकापर्ण गर्दै उनले सो कुरा बताए । 
मुलुक लामो राजनीतिक संक्रमणपछि विकास र समृद्धितर्फ केन्द्रित रहेको बताउँदै सभामुख महराले समृद्धि हासिल गर्ने सन्दर्भमा राष्ट्रिय योजना बनाउन पुस्तक ज्यादै उपयोगी सावित हुने विश्वास व्यक्त गरे । 
आयुक्त एवं लेखक डा. जोशीले आठ वर्षको अवधिमा तयार गरिएको पुस्तकमा कृषि क्षेत्रका चुनौती, आर्थिक वृद्धिदर, रोजगारी तथा गरिबी निवारण र खाद्य सुरक्षा प्रवद्र्धन सम्बन्धी विषयबस्तु समेट्ने प्रयास गरेको जानकारी दिए । 
पुस्तकका समीक्षक एवं गरिबी निवारण कोषका उपाध्यक्ष यमबहादुर थापाले कृषिका आयामलाई एउटा उपन्यासका रुपमा तयार गरिएको पुस्तक कृषि क्षेत्रको गीताको रुपमा जीवन्त रहने धारणा व्यक्त गरे । 
अर्का समीक्षक डा माधव कार्कीले नेपालको ६२ वर्षको कृषि क्षेत्रका कथा र सूचना समेटिएको बौद्धिकसँगै व्यावहारिक दस्तावेजका रुपमा रहेको उक्त पुस्तकमा कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उपाय देखाइएको बताए । 
दिगो अनुन्धान तथा विकास केन्दबाट प्रकाशित ३७४ पृष्ठको उक्त पुस्तक चौंध खण्डमा विभाजन गरिएको छ । 

Comment