• आज : Thursday 26 April 2018
    9:38:32 NST

पाकिस्तान–अफगानिस्तान सीमामा तनाव, पाँच सैनिक मारिए

पाकिस्तान, ४ बैशाख । पाकिस्तान र अफगानिस्तान सीमामा तनाव भएको छ । पाकिस्तान–अफगानिस्तान सीमाको डुरण्ड लाइनमा भएको हिंसामा पाँच पाकिस्तानी सेनाको ज्यान ग्उको छ भने एक सैनिक घाइते भएका छन् ।
सीमा क्षेत्रमा रहेका अफगानिस्तानका आदिवासी समुदायका मानिसले पाकिस्तानी सेनामाथि आक्रमण गरेका हुन् । अफगानिस्तानको खोश्त प्रान्तका गभर्नर हुकुम खान हबिबिले पक्राउ परेका र मारिएका सेनाको शव पाकिस्तानी सेनालाई बुझाइएको बताएको बिबिसीले उल्लेख गरेको छ ।
झडप गएको हप्ता सुरु भएको हो र अहिले मत्थर भएको छ । पाकिस्तानले सीमा गरेको कडाईका कारण झडप भएको खबरमा उल्लेख छ । झडपको क्रममा अफगानिस्तानका दुई सर्वसाधारण नागरिकको ज्यान गएको र अन्य तीनजना घाइते भएको अफगानिस्तानका अधिकारीले बताएका छन् ।
पाकिस्तानी सैनिक अफगानिस्तानको क्षेत्रमा प्रवेश गरेकाले अफगान सेना र स्थानीय आदिवासी समुदायले उनीहरुमाथि गोली चलाएको अफगान अधिकारीले बताएका छन् ।
पाकिस्तान र अफगानिस्तानको नक्सामा औपचारिक रुपले दुई देशलाई छुट्याउने रेखालाई डुरण्ड लाइन भन्ने गरिन्छ । दुई देशबिचको सीमाको लम्बाई २५०० किलोमिटर छ । यो क्षेत्रमा धेरैजसो पहाडी तथा दुर्गम क्षेत्र छ ।
डुरण्ड लाइनले अफगानिस्तानको पख्तुन आदिवासी क्षेत्रलाई पाकिस्तानको खैबर पख्नुनख्वाह, फाटा, बलुचिस्तान र गिलगित–बाल्तिस्तानबाट छुट्याउँछ । पाकिस्तान यसलाई देशको पश्चिमी सीमाको रुपमा लिने गरेको छ तर अफगानिस्तानले अहिलेसम्म यसलाई सीमाको रुपमा स्वीकार गरेको छैन ।
यो क्षेत्रमा पाकिस्तान र अफगानिस्तानबिच पहिलो पटक झडप भएको होइन । गएको वर्षको मे महिनामा दुई देशका सेनाबिच घण्टौँसम्म गोली हानाहान भएको थियो र धेरैको ज्यान गएको थियो ।

Comment

Related News