• आज : Thursday 26 April 2018
    9:48:16 NST

सिन्डिकेटकाे विराेधमा व्यवसायी, के हो सिन्डिकेट ?

काठमाडाैं, ४ बैशाख । सिन्डिकेट हटाउन सरकारले चालेको कदमविरुद्ध यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय गरेका छन् ।
सरकारले संशोधन गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको काम गर्दै व्यवसायीले आन्दोलनको निर्णय गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सांकेतिक रुपमा वैशाख २० गते सबै यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । त्यसपछि २६ गतेसम्म भद्रगोल रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने रणनीति पनि तय भएको छ ।
‘हामीले सवारी छुटाउने तालिका बनाउँदा सिन्डिकेट लादेको भनियो, त्यसैले २० गतेपछि कुनै गाडी समय तोकेर छुट्ने छैनन्’ महासंघका एक सदस्यले भने, ‘२६ गतेदेखि बन्द भनिए पनि २० गतेबाट नै सार्वजनिक यातायात सेवा प्रभावित हुनेछ ।’
आन्दोलनमा ट्रक व्यवसायीदेखि टि्रपर र ट्यांकर व्यवसायीले पनि साथ दिएका छन् । यो आन्दोलनले यात्रु सेवा मात्रै नभएर माल सामान ढुवानी सेवा पनि अवरुद्ध हुने उनले बताए । ‘६ गते हामी प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउँछौं । त्यसपछि हाम्रा गाडीमा विरोधस्वरुप कालो झण्डा राखिनेछ,’ उनले भने, ‘१९ गते देशभरका यातायात कार्यालय घेराउ गर्छौं ।’
के हाे सिन्डिकेट ?
कुनै एक समूहद्वारा निर्देशित तथा सञ्चालित व्यावसायिक क्षेत्रमा अर्को समूहलाई निषेध गर्नु सिन्डिकेट हो । अर्को शब्दमा बजारमा कुनै पनि सेवा वा वस्तुको प्रतिस्पर्धाको अभाव नै सिन्डिकेट हो ।
अझ स्पष्ट पार्नुपर्दा कुनै एउटा वस्तु वा सेवाको एकाधिकार सिन्डिकेट हो । नेपालको सन्दर्भमा यातायात क्षेत्रमा यस्तो अवस्था छ ।
सिन्डिकेट हट्यो भने के हुन्छ ?
सिन्डिकेट हट्नेबित्तिकै समस्याको समाधान भने हुँदैन । राज्यले यातायात क्षेत्रमा केही तयारी गर्‍यो भने मात्र राम्रो परिणाम दिन सक्छ । कम्तीमा पनि कुन ठाउँमा सवारीसाधन कति छन् र यात्रु कति छन् भन्ने विवरण सरकारसँग हुन आवश्यक छ । तर, अहिलेसम्म सरकारसँग यस्तो विवरण छैन ।
यसकारण नयाँ आउने सवारीसाधन व्यवस्थापनको गुरुयोजना हुनुपर्छ । यात्रु र सवारीसाधनको अनुपातको विवरण अद्यावधिक गरिनुपर्छ । त्यस्तै, कुन सडकमा कस्ता सवारीसाधन गुडाउने, कति संख्यामा गुडाउने भन्ने योजना बनाएर अघि बढ्दा समस्याको समाधान हुन्छ । होइन भने एउटा सिन्डिकेट हट्छ र अर्को जन्मन्छ । तर, विभागले आवश्यक तथ्यांक संकलन थालेको विभागका महानिर्देशक भट्टराईको दाबी छ ।
सिन्डिकेटका फाइदा र बेफाइदा
फाइदा – अहिलेको सिन्डिकेटबाट भएको एक मात्रै फाइदा हो यातायातका सवारीसाधन व्यवस्थापन सरकारले गर्नुपरेको छैन । व्यवसायी आफैँले गरिरहेका छन् । कुन गन्तव्यमा कतिवटा गाडी गए र कतिवटा आउँदै छन् भन्ने विषय सरकारले हेर्नुपर्दैन । सरकारको सहभागिता नै छैन । एकल रूपमा व्यवसायीले व्यवस्थापन गर्र्दै आएका छन् ।
बेफाइदा
१. बजारमा प्रतिस्पर्धा छैन, यसैले जस्तो सेवा दिए पनि त्यसको विकल्प (रोजाइ) जनतासँग छैन । वर्षौँदेखि सञ्चालनमा रहेका थोत्रा बसमा यात्रा गर्नुपर्छ । किनभने नयाँ बसलाई प्रवेश नै दिइँदैन ।
२. यातायात समितिले आयकर तिर्दैनन् । वार्षिक आयव्यायको अडिट गर्दैनन् । करोडौँ रुपैयाँ कारोबार गर्ने व्यवसायीले देशलाई गरेको राजस्व योगदान शून्य छ । उनीहरूले निजी सवारीधनीले पनि तिर्नुपर्ने सवारी कर र सवारी परीक्षण शुल्क तिर्छन् । त्यसबाहेक रुट परमिट दस्तुर तिर्ने गरेका छन् ।
३. सरकारले जनताको करबाट निर्माण गरेको सडक यातायात व्यवसायीले कब्जा गरिरहेका छन् । कानुन राज्यको उल्लंघन भइरहेको छ ।
४. एउटै यातायात व्यवसायीले मात्र सधैँभर फाइदा लिने काम भइरहेको छ । यात्रुको गुनासो सुनुवाइ भइरहेको छैन ।

Comment

Related News