• सोमबार ५-४-२०७५/Monday 08-20-2018

"कार्यशैली नसच्याए प्रधानमन्त्रीको राजीनामा माग्न बाध्य"

दीनानाथले भने : 'आन्दोलन गर्नुपर्ने अवस्था छैन् '

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले वर्तमान सरकारले आफ्नो कार्यशैली नसच्याए प्रधानमन्त्रीको राजीनामा माग्न आफूहरु बाध्य हुने चेतावनी दिएका छन् ।बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै  नेता पौडेलले भने, ‘वर्तमान सरकारको सय दिन हामीले हेरयौं, यो बीचमा सरकारका सबै तौल र तरिका पनि हेर्यौं, नीति तथा कार्यक्रमको हामीले ताली पिट्यौं तर सरकारले खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो यो समर्थनलाई कमजोरी ठान्नुभयो, प्रधानमन्त्रीले दुई तिहाईको दम्भ देखाउनुभयो, त्यसैले सरकारकै कारण हामी आज सडक र सदन दुवै ठाउँमा संघर्षमा उत्रिन बाध्य भएका छौं।’
नेता पौडेलले वर्तमान प्रधानमन्त्री ओली संविधानको ‘कमा’ र ‘फुलस्टप’ पनि परिवर्तन गर्न हुँदैन भन्ने व्यक्ति र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव यो संविधानको पूर्नर्लेखन गर्नुपर्छ भन्ने व्यक्ति भएकोले उनीहरु किन मिले ? भनेर सोध्न पाईने कि नपाईने भन्दै प्रश्न समेत तेर्साए । उनले थपे, ‘केपी ओली र उपेन्द्र यादव किन मिल्नुभयो ? यो विषय पारदर्शी हुनुपर्छ।’
वर्तमान सरकारले विश्वविद्यालयका उपकुलपतिलाई विमानस्थलबाट कब्जा गरेर थुनेको, आफू अनुकुल रिपोर्ट बनाउनको लागि अस्पतालबाट डाक्टरलाई अपरहण गरेको, पत्रकारको प्रश्नको सामाना गर्न नसक्दा टेलिभिजन कार्यक्रम नै बन्द गराएको, सिण्डिकेट अन्त्यको हल्ला चलाएपनि विभागका महानिर्देशक हटाएको, गलत गर्ने ठेकेदारलाई कारबाही नगरेको, महँगीले आकाश छोएकोलगायत जनजिविकाका थुप्रै मुद्दामा वर्तमान सरकार मौन रहेको उनको गुनासो छ ।
उनले थपे, ‘त्यतिमात्रै होईन, माईतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्यो, डाक्टर गोविन्द अहिले १५ औं अनशनमा हुनुहुन्छ, उहाँका माग सम्बोधन गर्न सरकार गम्भिर देखिएन, माथेमा आयोगको प्रतिवेदन अनुसार अध्यादेश ल्याउने सहमति भएको थियो, तर सरकारले त्यसलाई तोडमोड गरेर विद्येयक ल्याउन खोजेको छ, यस्तो अवस्थामा अब यो सरकारलाई समर्थन गरिराख्नुको कुनै अर्थ छैन, र त्यस्तो अवस्थापनि अब रहेन।’
सभामुख र उपसभामुख एउटै दलबाट बन्नु संविधान विपरित भएको भन्दै उक्त कदम तुरुन्त सच्याउनुपर्ने उनको जोड थियो । ‘हामीलाई सरकारको कब्जाको रणनीति मान्य छैन’–उनले भने, ‘सरकारको एउटा निर्णयले आज हजारौंका संख्यामा असर परेको छ, अघिल्लो सरकारले नियुक्ती गरेका सबै कुरा खारेज गर्ने कुराले के देखाउँछ भने सरकारमा दुई तिहाईको दम्भ बढि भयो।’

दुई तिहाईको दम्भमा जनतालाई तर्साउने र धम्काउने, लोकतान्त्रिक व्यवस्थालाई कमजोर तुल्याउने कुरा आफूहरुलाई कुनै हालतमा पनि स्विकार्य नरहेको उनको भनाई छ । उनले भने, ‘सरकारले सुशासन र समृद्धिको लागि अब पनि काम गर्न नसके, यसको अपजस सबै सरकार र यसको नेतृत्व गरेका व्यक्तिलाई जान्छ।’

प्रधानमन्त्री ओली आफूहरुको पनि प्रधानमन्त्री भएको बताउँदै उनले भने, ‘उहाँ त हाम्रो पनि प्रधानमन्त्री हो नि, तर उहाँ निरन्तर हामीलाई गाली गर्नुहुन्छ, प्रधानमन्त्रीले आफ्ना चाल, प्रस्तुति र व्यवहारहरु बदल्न जरुरी छ, सरकारले आफ्ना प्राथमिकताहरु बदल्न जरुरी छ।’

वर्तमान प्रधानमन्त्रीजतिको बलियो प्रधानमन्त्री नेपालमा अहिलेसम्म कहिल्यैपनि नभएको उल्लेख गर्दै नेता पौडेलले भने, ‘अहिलेको सरकार ईतिहाँसकै सबैभन्दा बलियो सरकार हो।’ आफूहरुको अबको कदम भनेको सरकारलाई सचेत बनाउन केन्द्रित रहने उनको जिकिर । यद्धपी उनले जनताको अधिकार र स्वतन्त्रतामाथि धावा बोल्ने कहीँ कतैबाट पनि हुन नहुने बताए ।

संघीयता कार्यान्वयन गर्नतर्फ वर्तमान सरकार त्यति उत्साहित नरहेको उनको आरोप छ । उनले भने, ‘सरकारले विकेन्द्रिकरण स्विकार गरेको छैन, कर्मचारीहरु संघीयताको पक्षमा छैनन्, देशका प्राज्ञिक व्यक्तित्वहरुलाई बेईज्जत गराउने काम यो सरकारले गरेको छ।’ सरकारलाई आफ्नो कार्यसम्पादन सच्याउन कांग्रेसको आग्रह रहेको उनले बताए ।

लोकतन्त्रमा संस्था बलियो बनाउनुपर्ने बताउँदै उनले भने, ‘तर अहिले प्रधानमन्त्रीको गतिवधि र चाला हेर्दा उहाँ व्यक्ति बलियो बन्नतर्फ केन्द्रित हुनुहुन्छ, उदाहरणको लागि राष्ट्रिय अनुसन्धान विभागलाई आफू केन्द्रित गर्नुभयो, राजश्व अनुसन्धान विभाग उहाँलाई किन चाहियो रु त्यस्तै सम्पत्ति शुद्धिकरण आफू माताहतमा राखेर तर्साउन खोज्दैहुनुहुन्छ, शक्ति आफूकेन्द्रित गरेर मनपरी गर्न पाईदैन्, सरकारलाई सच्चिनको लागि आग्रह छ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का राष्ट्रिय सभाका संसदीय दलका नेता दीनानाथ शर्माले वर्तमान सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलन नै गरिहाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् ।

नेता शर्माले सरकार संविधानप्रति पूर्ण प्रतिबद्ध रहेकोले अहिले नै सरकारका विरुद्ध कांग्रेसले आन्दोलन नै गरिहाल्नुपर्ने अवस्था नरहेको जिकिर गरे । उनले भने,‘लोकतन्त्रप्रति सबै दल एकताबद्ध भएर अघि बढ्नुपर्छ, लोकतन्त्र ल्याउन सबैभन्दा बढि कम्युनिष्टहरुले नै रगत बगाएका छन्, जेल तथा नेल भोगेका छन्, वर्तमान प्रधानमन्त्री १४ वर्ष जेल बस्नुभएको थियो, लोकतान्त्रिक प्रणाली स्थापनार्थ सबै दलहरुले बेला बखत बन्दुक बोकेका छन्, कसैले ०७ सालमा बोके, कसैले ०५२ सालमा बोके।’

उनले वर्तमान सरकार विनम्र रहेको जिकिर गरे । उनले भने, ‘सरकारले दम्भ होईन विनम्र पेश गर्न प्रयास गरिरहेको छ, सरकार फेर्ने कुरा बेकारको कुरा हो, यसको कुनै सम्भावना छैन्।’ सरकारमाथि निगरानी बढाउनु, खवरदारी गर्नु र सचेत गर्नु प्रमुख प्रतिपक्षी दलको धर्म नै भएको उनको भनाई छ ।

वर्तमान सरकार संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कांग्रेसले अहिले सरकारको राजिनामा नमागेको पनि जिकिर गरे । उनले भने, ‘सरकार र कांग्रेसबीचको दुरी धेरै नजिक छ, हामीले मिलेर अघि बढ्छौं, ऋषिजीले हामीबीच फाटो ल्याउनेगरि कुरा गर्नुभयो, कांग्रेसले सरकारको राजिनामा मागेको छैन्।’

वर्तमान राजनीतिक दलहरुको लागि संविधानभन्दा अर्को दस्तावेज नभएको बताउँदै उनले आवश्यक परे संविधानलाई सुधार गर्न आफूहरु प्रतिबद्ध रहेको पनि सुनाए । उनले भने,‘जनताका चाहना र भावनाहरुलाई सम्बोधन गर्न हामी जहिल्यैपनि तत्पर छौं।’

सरकार विरुद्ध कांग्रेस त भोलिदेखि सडकमा उत्रिने भयो नि भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने, ‘लोकतन्त्रमा जुलुस लाउन छुट छ, त्यो त लोकतन्त्रले दिएको अधिकार हो।’ उनले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका पक्षमा कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएको कुरालाई अनर्थ लगाउन नहुने बताउँदै भने, ‘उहाँले वैचारिक रुपमा खण्डन र प्रतिवाद गर्न भन्नुभएको हो।’

फरक प्रसँगमा उनले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने बताउँदै भने, ‘डाक्टर केसीले उठाएका विचारहरु सबै खराब छैनन्, माथेमा आयोगको प्रतिवेदन त्यतिवेला ठीक थियो, अहिले परिस्थिति फेरिएको छ, यो भन्दा बढि कलेज खोल्न पाईँदैन भन्नु निरंकुशता हो, कुन ठाउँमा कति वटा कलेज खोल्ने वा नखोल्ने भन्ने जिम्मा संविधानले अहिले प्रदेश सभालाई दिएको छ।’

नेता शर्माले डाक्टर केसीका मागहरु उच्चस्तरीय आयोगमार्फत हल गर्नुपर्ने सुझाए । उनले भने, ‘वार्ताद्धारा नै समस्याको समाधान हुन्छ, दमन गरेर हुँदैन, सरकार उहाँलाई पहिले काठमाडौं ल्याएर उपचार गर्न चाहन्छ, सम्भवतस् आज र भोलिभित्रै सरकारले उहाँलाई काठमाडौं ल्याउँछ, सरकारले उहाँका मागहरु सम्बोधन गर्न पहलकदमी लिनुपर्छ, लिरहेको छ।’

राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन जारी राख्ने वा फिर्ता लिने भन्नेबार आफूहरुले पूर्नविचार गर्ने स्पष्ट पारेका छन् । उनले भने, ‘सरकारलाई समर्थन गर्ने कुरामा हामी पूर्नविचार गर्छौं।’

सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकार गठन भएको ५ महिनामै सडकमा जाने अवस्था किन आयो भन्दै नेता लालले प्रश्न समेत तेर्साए । उनले भने,‘सरकार स्वेच्छचारी देखियो, लोकतान्त्रिक व्यवस्था अनुसार चल्नुपर्छ नि, अहिले मुलुकको समृद्धि भन्दापनि सरकारले आफ्नो पार्टी र कार्यकर्ताको समृद्धि बढि चाहेको देखियो।’

सरकारका पछिल्ला कदमहरुले सरकारविरुद्ध नै जनमत बढिरहेको बताउँदै उनले यो जनमतलाई कांग्रेसले प्रयोग गर्न चाहेको सुनाए । उनले भने, ‘यो जरुरी पनि छ, माईतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्यो, यो प्रतिबन्ध लगाउने कामपनि सरकारको स्वेच्छाचारी मानसिकताको स्पष्ट चित्र हो।’

राज्यले डाक्टर गोविन्द केसीसँग धेरैपटक सम्झौता गरेको तर अहिलेसम्म कार्यान्वयन नगरेकोमा उनले गुनासो पोखे । उनले भने,‘डाक्टर केसी अनशनमा हुनुहुन्छ, तर सरकार उहाँको मागप्रति गम्भिर बन्नुपर्छ।’ चिकित्सा शिक्षा अध्यादेश हेरफेर गर्दा सरकारको विश्वसनियता समाप्त हुने बताउँदै उनले सरकारले सदनमा दम्भको कुरा गर्न नहुने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

"प्रधानसेनापति नियुक्तदेखि विम्स्टेक सम्मेलनमा ग्रिड सम्झौतामा हस्ताक्षर गर्ने अख्तियारी"

" काठमाडौ, साउन  । आईतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापति नियुक्त गर्नेदेखि विम्स्टेक सम्मेलनका क्रममा ग्रिडसम्बन्धी

"६ महिनाको अवधिमा ७ मुद्धामा सरकार चुक्यो "

काठमाडौं । नेपाली कांग्रेसले  सरकार निर्माण भएको ६ महिनाको अवधिमा  सरकार चुकेको ७ मुद्दाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । आइतबार पार्टी

कांग्रेसले बोलायो स्थानीय तह प्रमुख तथा उपप्रमुखलाइ राजधानी

काठमाडौं, साउन ।  स्थानीय तहको करको विषयमा नेपाली काँग्रेसले आफूले जितेका स्थानीय तहका  प्रमुख र उपप्रमुखसँग छलफल गर्ने भएको छ ।     छललफका