• आज : Thursday 26 April 2018
    10:13:01 NST

बराबरीमा राेकिए पनि आर्सनल सेमिफाइनलमा

काठमाडाैं, ३० चैत । आर्सनल युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बिहीबार राति भएको खेलमा सिएसकेए मस्कोसँग २–२ को बराबरीमा रोकिए पनि समग्रमा ६–३ को जित निकाल्दै आर्सनलले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
घरेलु मैदानमा भएको पहिलो लेगमा आर्सनल ४–१ ले विजयी भएको थियो । आर्सनलले अवे मैदानमा भएको दोस्रो लेगमा जित निकाल्न नसके पनि हार भने टार्न सफल भयो ।
३९ औँ मिनेटमा फेदोर कालोवको गोलबाट मस्कोले खेलमा सुरुवाति अग्रता लियो । ५० औँ मिनेटमा किरिल नाबाब्किनले गोल गरेपछि घरेलु टोलीको अग्रता दोब्बर भयो ।
आर्सेन वेङ्गरको टिम त्यसपछि मात्रै खेलमा फर्किएको हो । आर्सनलका लागि ७५ औँ मिनेटमा ड्यानी वेलबेकले गोल गरे ।
यस्तै इन्जुरी समयको दोस्रो मिनेटमा आरोन रामसीले गोल गरेपछि आर्सनल हारबाट जोगियो र समग्रमा ६–३ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो ।
बिहीबार राति नै भएको अर्को खेलमा आरबी लिइप्जिगलाई ५–२ ले हराएको मार्सेइली समग्रमा ५–३ को जितसहित अन्तिम चारमा पुगेको छ । पहिलो लेगमा १–० ले पराजित भएपनि मार्सेइलीले दोस्रो लेगमा शानदार पुनरागमन गरेको हो ।

Comment

Related News