• आज : Wednesday 17 January 2018
    10:28:55 NST

डन्डिफोरको समस्याः उपचार छ, आत्तिनु पर्दैन

–शोभा मल्ल
अहिले धेरै युवा युवतीहरु डन्डिफोरको समस्याले पीडित हुने गरेको पाइएको छ । जसले गर्दा उनीहरुमा मानसिक रुपमा  चिन्ता रहनुका साथै हिनता बोधसमेत गराउँछ । यसले गर्दा  आत्माविश्वासमा कमी, कुनै काम गर्न असहज जस्तो अनुभव हुने हुन्छ । डन्डिफोर छालामा हुने एक प्रकारको रोग हो भन्ने कुरा नबुझ्दा र डन्डिफोर निको पार्ने भन्दै विभिन्न घरेलु उपाय अपनाउँदा धेरैले अनुहारको सुन्दरता गुमाउँने गरेका पनि छन ।
विशेषज्ञका अनुसार, मानिसको शरीरमा हुने रौँको फेदमा स–साना प्वाल हुन्छन । रौँको जरामा जोडिएर बसेको एक प्रकारको ग्ल्यान्ड हुन्छ । यो ग्ल्यान्डले छालालाई चिल्लो बनाउने विशेष प्रकारको रस उत्पादन गर्छ । जुनबेला रौँको जरामा रहेको प्वाल बन्द हुन्छ, त्यस्तो बेलामा छालालाई चिल्लो बनाउने रस बाहिर निस्कन पाउँदैन  । यो छालाभित्रै जम्छ ।
यसरी जमेको अवस्था नै डन्डिफोर अर्थात् पिम्पल्सको अवस्था हो । डन्डिफोरका चारवटा तह हुन्छन् । स्वास्थ्य विज्ञानले ग्रेड एकदेखि चारसम्म यसको वर्गीकरण गरेको छ ।
डन्डिफोरको पहिलो चरण ‘ब्ल्याक हेड’ हो । काला स–साना गिर्खा अनुहारमा भएको अवस्थालाई नै ब्ल्याक हेड मानिन्छ । चौथो चरणमा पुगेको डन्डिफोरमा पीप र रगत नै जमेको हुन्छ । डन्डिफोर आइसकेपछि त्यसमा ब्याक्टेरियाको इन्फेक्सन हुने भएकाले यसले छालालाई थप हानी पु¥याउँछ ।
अनुहार, छाती, कुम र कहिलेकाहीँ ढाडमा पनि डन्डिफोर आउँछन् । कपडाले ढाक्ने भागमा डन्डिफोर आउँदा खासै फरक पर्दैन ।  तर, अनुहारमा डन्डिफोरले दाग, धब्बा र स–साना खोपिल्टा छोडेर जाने भएकाले यो धेरैको पिरलो बन्नेगरेको छ ।
डन्डिफोरबाट कसरी  बच्ने....? यस्ता छन् उपायः
–डन्डिफोर धेरै चिल्लो छालामा देखिने रोग हो । यसबाट जोगिन छालालाई ड्राई राख्ने कुरामा ध्यान दिनुपर्छ ।
–जीवनशैलीमा ध्यान दिनुपर्छ । धेरै चिल्लो खानु हुँदैन भने चकलेट धेरै खानेहरूलाई पनि डन्डिफोर  निस्कने  समस्या देखिनसक्छ ।
–डन्डिफोर आएका ब्यत्तिले तेलबाट जोगिनुपर्छ । कपालमा तेल हालेर बस्ने गर्नुहुँदैन । अनुहारको चिल्लो हटाउन क्लिन्जिङ गर्नुपर्छ भने दिनमा तीनचारपटक मुख धँुदा राम्रो हुन्छ ।
–छालालाई सुक्खा बनाउने क्रिम लगाउनुपर्छ । डन्डिफोरले निकै नै दुःख दिएको छ भने एन्टिबायोटिक क्रिम लगाउने र औषधि खानुपर्ने पनि हुन्छ ।

यसको उपचार के त ?
–डन्डिफोरले बिगारिसकेको अनुहारको छालालाई सफा बनाउन औषधि र क्रिमले मात्र काम गर्दैनन् । यसका लागि लेजर थेरापी गर्नपर्ने हुन्छ । डन्डिफोरका कारण दाग बसेको छालालाई मेसिनको सहायताबाट हटाउने विधि प्रयोग गरी उपचार गर्नुपर्छ । यो विधिमा दाग बसेको छालाको बाहिरी तहलाई हटाउने र नयाँ छाला पलाउने अवस्था सिर्जना गर्छ ।
–डन्डिफोर आउन थालेपछि त्यसलाई कोट्याउने तथा निचोर्ने नगरी  चिकित्सकलाई देखाएर थोरै सावधानी अपनाउँदा अनुहारमा आउने समस्याबाट बच्नसकिन्छ ।

Comment

Related News